कञ्चनपुरका किसानको प्रश्न : बजारमा सस्तो, खाद्यमा कोटा , हाम्रो धान कहाँ बेच्ने?

कञ्चनपुर। कञ्चनपुरमा धान बेच्न नपाएर किसानहरू चिन्तामा परेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महेन्द्रनगर शाखाले कोटा पूरा भएको भन्दै मंसिर ३ गतेदेखि धान खरिद बन्द गरेपछि किसानहरू धान बोकेरै कार्यालय धाउन बाध्य भएका छन्।

यस वर्ष कार्यालयले पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो। कार्यालय प्रमुख महिकरण महराका अनुसार, कात्तिक १६ देखि सुरु भएको धान खरिद कार्य मंसिर २ गतेमै लक्ष्य पुगेपछि रोकिएको हो। १९५ जना किसानबाट पाँच हजार क्विन्टल मोटा धान खरिद भइसकेको उनले बताए।

तर नयाँ कोटा नबढेसम्म धान लिन नसक्ने कार्यालयले स्पष्ट गरेपछि अझै २०३ जना किसानले आफ्नो धान खरीद हुनुपर्ने मागसहित नाम दर्ता गरेका छन्।

खाद्यले खरिद रोक्दा किसानहरू झन् समस्यामा परेका छन्। सरकारले प्रतिक्विन्टल ३,४६३.८१ रुपैयाँ मूल्य तोके पनि मिल व्यवसायी र व्यापारीहरूले बजारमा यसभन्दा ८ सय रुपैयाँसम्म कम मूल्य प्रस्ताव गरिरहेको किसानहरूको गुनासो छ। यसले उनीहरूको लागतसमेत नउठ्ने अवस्था बनेको छ।

भीमदत्त–२ का किसान जयसिंह साउँदले पटक–पटक खाद्य कार्यालय धाएँ तर “कोटा सकियो” भन्दै फर्काइयो भन्दै दुःख व्यक्त गरे। उनी जस्तै २ सयभन्दा बढी किसान धान बेच्न नपाएर दौडधुपमै छन्।

बेलडाँडीका किसान जयानन्द भट्टले दुई बिघामा उत्पादन भएको धान बजारमा बेच्नुपर्दा २५ हजार रुपैयाँभन्दा बढी घाटा हुने भन्दै खाद्यले नै खरिद गर्नुपर्ने माग राखे।

गत वर्ष शाखालाई १५ हजार क्विन्टल धान खरिद गर्ने अनुमति थियो तर ३,३०० क्विन्टल मात्रै खरिद भयो। सोही कारण यस वर्ष कोटा नै घटाइएकाे कार्यालय प्रमुख महराको भनाइ छ। उनी भन्छन्, “गत वर्ष बाहिरबाट महँगोमा धान किन्नुपरेको र पुरानो चामल अझै पाँच क्विन्टल बाँकी भएकाले यस वर्ष कोटा बढाइएको छैन।”

उनका अनुसार, प्रदेश र संघ सरकारले बजेट सुनिश्चित गरिदिए कोटा बढाएर बाँकी किसानको धान खरिद गर्न सकिने छ। स्थानीय तहले पनि यसमा सहयोग गर्नुपर्नेमा उदासीनता देखाएपछि किसानहरू थप समस्यामा परेको उनको आरोप छ।

यसैबीच, जिल्ला समन्वय अधिकारी खेमराज काफ्लेले धान खरिद समस्याबारे पालिका प्रमुखसँग निरन्तर छलफल भइरहेको बताए। “किसानले आफ्नो उत्पादन उचित मूल्यमा बेच्न पाउनुपर्छ, यसका लागि सबै पालिकासँग समन्वय भइरहेको छ,” काफ्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *