सुनसरी । अविरल वर्षाले सुनसरीका किसानको महिनौँको परिश्रम बगाएको छ। जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, कोशी गाउँपालिका र वराहक्षेत्रका दर्जनौँ बिघा क्षेत्रका मौसमी तथा बेमौसमी तरकारी बाली पानीको डुबानमा परेर नष्ट भएका छन्। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार असोज १८ गतेदेखि लगातार परेको वर्षाका कारण तरकारी र अगौटे धान बालीमा व्यापक क्षति पुगेको छ।
सबैभन्दा ठूलो क्षति वराहक्षेत्र–९ ढोलबजिया क्षेत्रमा भएको छ, जहाँ सुन्दर कृषि फर्मका सञ्चालक अमिर निरौलाले लगाएको २१ बिघा क्षेत्रफलको तरकारी बाली पूर्ण रूपमा डुबानमा परेको छ। उनले करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन्। “दुई बिघाको टमाटर, दश कठ्ठाको करेला, आठ कठ्ठाको बैगुन, एक बिघा दश कठ्ठाको क्याप्सिकम, पन्ध्र कठ्ठाको काँक्रा र अन्य बाली सबै नष्ट भएका छन्,” निरौलाले बताए।
आठ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका तीन जना युवा कृषकको यो फार्मले दैनिक २८ जनालाई रोजगारी दिइरहेको थियो। पानी पर्नुअघि फार्मबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको तरकारी बिक्री हुने गर्थ्यो। अहिले भने खेतहरूमा पानी जमेर बिरुवा सुकेका छन् र फल्दै गरेका बोटहरू मर्न थालेका छन्।
फार्मका अगुवा कृषक रघु चन्द्रवंशीका अनुसार, “हामीले मलचिङ् र टनेल प्रविधिबाट बेमौसमी तरकारी उत्पादन गर्दै आएका थियौँ। तर यसपालिको बाढीले सबै बाली बगायो।” उनीहरूका अनुसार, वर्षौंदेखि निरन्तर लगानी गर्दै आएको १४ लाख रुपैयाँ बराबरको बीउ, मलचिङ् प्लास्टिक र संरचना नष्ट भएको छ।
गत वर्ष मात्रै सुन्दर कृषि फर्मले १ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो। तर यो वर्ष पानीको निकास नहुँदा सबै बाली डुबानमा परेपछि किसानहरू निराश बनेका छन्। कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार, जिल्लाभरको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ र प्रभावित कृषकलाई सहयोगका लागि प्रक्रिया अघि बढाइएको छ।
स्थानीय किसानहरूका अनुसार, अहिले नै पानी नघटाए थप बाली पनि सड्ने जोखिम बढेको छ। कृषकहरूको आशा अनुसार, सरकारले शीघ्र राहत र सहुलियत ऋणको व्यवस्था नगरे उनीहरूलाई खेती पुनः सुरु गर्न कठिनाइ हुनेछ।