काठमाडौँ । नेपाल उखु उत्पादक महासंघले सरकारलाई मंसिर १३ गतेसम्म बाँकी अनुदान रकम नआए १४ गतेबाट आन्दोलनमा उत्रिने कडा चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा किसानहरूले करिब ७५ करोड रुपैयाँ अनुदान तत्काल भुक्तानी गर्न सरकारलाई आग्रह गरे। उनीहरूले उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्नुपर्ने माग पनि दोहोर्याए।
किसान महेशचन्द्र यादवका अनुसार, “विगत वर्षको ३५ रुपैयाँ प्रतिक्विन्टलको दरले आउने ७५ करोड अनुदान अझै बाँकी छ। त्यो रकम १३ गतेभित्र भुक्तानी हुनैपर्छ,” उनको भनाइ छ।
किसानहरूको अर्को माग , उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर मूल्य निर्धारण गर्न सरकार, चिनी उद्योगका प्रतिनिधि र किसान सबै मिलेर बैठक बस्नुपर्ने छ।
उखु किसानहरूले आज नै कृषिमन्त्री डा. मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा आफ्नो मागसहित ज्ञापनपत्र बुझाएका छन्।
यस्तोखछ आन्दोलनको रूपरेखा :
मंसिर १४: सर्लाहीको हरिवनमा एक घण्टा राजमार्ग जाम
मंसिर १५ देखि: करिब एक लाख किसान परिवारको प्रतिनिधित्वमा हरिवनमा अनिश्चितकालीन राजमार्ग अवरुद्ध
