गोदाममा लुकाएर राखेको १३४ बोरा अवैध डिएपी मल बरामद

सप्तरी। गोदाममा लुकाएर भण्डारण गरिएको ठूलो परिमाणको रसायनिक मल सप्तरी प्रहरीले विशेष अपरेसनमार्फत नियन्त्रणमा लिएको छ। हनुमाननगर कंकालिनी नगरपालिका–९ इनर्वा चौकस्थित एक पुरानो राइसमिलको गोदाममा अवैध रूपमा लुकाइराखिएको १३४ बोरा डिएपी मल आइतबार प्रहरीले बरामद गरेको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नम्बर ६ गण गोरगमा र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले स्थानीय धर्मेन्द्र जैनको पुरानो राइसमिलमा छापा मारेर मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बर बहादुर पुरीले जानकारी दिए ।

उनका अनुसार ४५ वर्षीय धर्मेन्द्र दासले गोदाम भाडामा लिएर ५० किलो तौलका १३४ बोरा डिएपी मल अवैध रूपमा भण्डारण गरी राखेको अवस्थामा फेला परेको हो। नियन्त्रणमा लिइएको सम्पूर्ण मल जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवैध मल व्यापार नियन्त्रणका लागि जिल्लाभर निगरानी कडा गरिएका छन् र अन्य स्थानमापनि आवश्यक अनुगमन जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *