काठमाडौं । जापानी लेखक काजु योशिदाद्वारा लिखित पुस्तक ‘अटोमेटिक फ्रिडम’ को काठमाडौंमा लोकार्पण गरिएको छ। रिकिशीको आयोजनामा आईतवार सम्पन्न कार्यक्रममा स्वामी डा. चिन्तामणीनाथ योगी र गण्डकी विश्वविद्यालयका पूर्वकुलपति प्रा. डा. गणेशमान गुरुङले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
लोकार्पण समारोहमा पुस्तकबारे चर्चा गर्दै स्वामी डा. योगीले ‘अटोमेटिक फ्रिडम’ ले विश्व शान्ति, आनन्द, सद्भाव, एकता र मित्रताको सशक्त सन्देश प्रवाह गर्ने बताए। उनले मानिसले चेतनाको स्तर उकास्दै आन्तरिक स्वतन्त्रतामा रमाउन सके मात्र वास्तविक सुख अनुभूति गर्न सक्ने उल्लेख गरे।
प्रा. डा. गणेशमान गुरुङले जीवनको आध्यात्मिक पाटोलाई उजागर गर्दै अघि बढ्दा नै व्यक्ति शान्ति र सन्तुलनमा पुग्ने धारणा राखे। उनका अनुसार आध्यात्मिक चेतनाले मानिसलाई जीवनको गहिरो अर्थसँग जोड्छ।
कार्यक्रममा प्रा. डा. हरि शर्मा, इन्जिनियर महेश सिंह कठायत, प्रा. हरि निरोला तथा रिकिशीकी अध्यक्ष उषा गिरीले ‘अटोमेटिक फ्रिडम’ लाई पढ्नैपर्ने विशिष्ट कृति भन्दै प्रशंसा गरे। उनीहरूले लेखकले उपयोगिताको सिद्धान्तमा आधारित रहेर गहिरा दार्शनिक विषयहरूलाई सरल र सहज भाषामा प्रस्तुत गरेको बताए।
पुस्तकका लेखक काजु योशिदाले नेपाल आएर विद्वान व्यक्तित्वहरूसँग विचार–विमर्श गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए। उनले पुस्तक प्रकाशन तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने रिकिशी परिवारप्रति आभार व्यक्त गरे।
‘अटोमेटिक फ्रिडम’ ले ब्रह्माण्ड, स्वतन्त्रता, चेतना (पुरुष) र आत्माको अस्तित्वसम्बन्धी दार्शनिक सिद्धान्तहरूलाई विश्लेषण गर्दछ। पुस्तकको मूल सन्देश अनुसार वास्तविक स्वतन्त्रता भनेको ‘आफूले चाहेको गर्ने र जब चाहेको गर्ने’ अवस्था हो, जुन अहंकार (म भन्ने भ्रम) समाप्त भई व्यक्ति सार्वभौमिक चेतना ‘पुरुष’ सँग एकाकार भएपछि मात्र सम्भव हुन्छ।
पुस्तकमा समय र स्मृति भ्रम मात्र भएको, परम्परागत अर्थमा स्वतन्त्र इच्छाको अस्तित्व नरहेको, भावना र विचारप्रतिको आसक्तिलाई त्याग्दै जानु नै दुःखबाट मुक्तिको मार्ग भएको उल्लेख गरिएको छ। साथै, वर्तमान क्षणको पूर्ण स्वीकार नै सुखको आधार भएको र ब्रह्माण्ड पवित्र ज्यामितीय संरचनामा आधारित भई अन्ततः शून्यबाट उत्पन्न भएर शून्यमै विलीन हुने दर्शन प्रस्तुत गरिएको छ।
लेखकका अनुसार मानिसको वास्तविक पहिचान अहंकार होइन, चेतनाको सार्वभौमिक रूप ‘पुरुष’ हो। यही साक्षात्कार नै पूर्ण स्वतन्त्रता, आनन्द र जीवनको सार हो।
