अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौं । अछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित स्मृतिग्रन्थ लोकार्पण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त स्मृतिग्रन्थ सार्वजनिक भएको हो ।

राजनीतिज्ञ एवं समाजसेवी बूढथापाको जीवनी र योगदानमा आधारित स्मृतिग्रन्थ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले स्मृतिग्रन्थ विमोचन गरे। स्मृतिग्रन्थ लोकार्पण गर्दै प्रमुख अतिथि बडूले दिलबहादुर कुँवर बूढथापाको योगदान परिवार समाज र सुदूरपश्चिम क्षेत्र मात्र नभई सिंगो देशको सम्पत्ति भएको बताए ।

उनले भने, ‘दिलबहादुर कुँवर बूढथापाको राजनीतिमा मात्र होइन, सामाजिक रूपान्तरणमा पनि ठूलो भूमिका छ । राणा शासनको जर्जर अवस्थामा घरमै विद्यालय खोल्ने कुरा अद्भूत र क्रान्तिकारी कदमको हो ।’

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले अछाम बाजुराका प्रथम सांसद दिलबहादुरका इतिहासको जगेर्ना गर्दै यसलाई लिपिबद्ध गर्नुपर्ने आवश्यकता रहेकोमा उक्त कामले पूर्णता पाएको भन्दै हर्ष व्यक्त गरे ।

‘अछाम जिल्लामा मालपोत कार्यालय ल्याउनको लागि उहाँको अहम् भूमिका थियो । उहाँले तत्कालीन समयमा अछामका पाँच सय बढी युवाहरूलाई लिएर डोटीको पुरै बजारमा तालाबन्दी गर्ने आन्दोलनको नेतृत्व पनि उहाँले गर्नुभएको थियो । अछामको बयालपाटामा विद्यालय, श्रीकोट लगायतका स्थानमा विद्यालय स्थापनामा समेत उहाँको महत्वपूर्ण भूमिका थियो ।’, उनले भने ।

पुर्खाको इतिहासलाई सम्मान र संरक्षण गर्दै अघि बढ्न नयाँ पुस्ताका लागि पनि यो ग्रन्थ महत्वपूर्ण हुने उनको विश्वास छ । स्मृतिग्रन्थ सार्वजनिकीकरण समारोहका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर बूढथापाबाट समाजसेवा, भ्रष्टाचार विरोधी अभियानले आफूहरूलाई समेत समाजसेवा गर्ने प्रेरणा मिलेको उल्लेख गरे ।

स्मृतिग्रन्थको समीक्षा गर्दै वरिष्ठ साहित्यकार प्रमोद दाहालले यो पुस्तक इतिहासका विद्यार्थीले पिएचडीमा शोधपत्र गर्न सक्नेस्तरको रहेको बताए ।

उनले स्मृतिग्रन्थमा अधिकांश नयाँ र रोचक ऐतिहासिक तथ्यहरू उजागर भएको समेत उल्लेख गरे ।

दिलबहादुर कुँवर (बूढथापा)का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवरले मृत प्रायः यस गौरवमय इतिहासको उत्खनन गरी यसलाई जीवन्त राख्ने सानो प्रयास गरेको बताए । भावी पिँढीका लागि एक प्रेरणाको स्रोत बनोस् भन्ने कामना समेत गरे ।

सांसद बूढथापाले वि.सं. २०१५ सालको निर्वाचनमा अछाम बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ बाट तत्कालीन सेती महाकालीक्षेत्रमै सर्वाधिक मत ९ हजार ६ सय ५ ल्याएर विजयी भएको भएको थियो । उनी नेपाली कांग्रेस अछामको निर्वाचित प्रथम सभापति समेत बनेका थिए ।

वि।सं २०१७ सालमा सम्पन्न नेपाली कांग्रेसको सातौं केन्द्रीय महाधिवेशनबाट बिपी कोइरालाको अध्यक्षतामा गठित ३२ सदस्यीय केन्द्रीय कार्यसमितिको सदस्य समेत चुनिएका थिए ।

दिलबहादुर कुँवर (बूढथापा)का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठले उनको जीवनी, राजनीतिक यात्रा, समाजसुधार र योगदानमा आधारित स्मृतिग्रन्थ प्रकाशित गरेका हुन् ।

स्मृतिग्रन्थको प्रधानसम्पादक विमल भौकाजी हुन् । सम्पादक मण्डलमा शेरबहादुर कुँवर, प्रेमबहादुर कुँवर र कुलबहादुर कुँवर छन् ।

पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर बूढथापा वि.सं. १९६४ असार १७ गते जन्मिएका उनको वि.सं. २०५९ भदौ २९ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *