मिलन अधिकारी
काठमाडौं । इतिहासका पानामा पढिने विगत होइन, नेपाली पुस्ताले आफ्नै आँखै अगाडि शासनको सम्पूर्ण संरचना खरानी भएको भयानक दृश्य देख्नुपरेको छ । भदौ २३ र २४— दुई दिनमै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता राज्यका तीनै अंगदेखि प्रधानमन्त्रीको निवास र सिंहदरबारसम्म आगोमा ध्वस्त हुँदा मुलुक शून्यमा पुगेको छ ।
शासन सम्हाल्ने एक व्यक्तिको अहंकारले मुलुक कसरी बर्बाद हुन्छ भन्ने उदाहरण अब अरू मुलुक हेर्नुपरेन, नेपालले आफैँ देखाइदिएको छ ।
राज्यका तीन अंग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना जलेर नष्ट भएका छन् । नेपालको इतिहासदेखि अहिलेसम्मका सबै शासकीय संरचनाका अभिलेखहरू धुवाँ बनेर उडेका छन् । यसले नेपाली समाजले अहिलेसम्म कहिल्यै नदेखेको विभत्स घटना निम्त्याएको छ ।
सर्वत्र आगजनी र आक्रमण
सरकारी भवन, पार्टीका कार्यालय, नेताका निवास, विवादित व्यापारीका सम्पत्ति, मिडियाका कार्यालयसम्म आगजनी भएको छ । नेतामाथि प्रत्यक्ष भौतिक आक्रमण भएको छ, जुन नेपाली इतिहासमै अभूतपूर्व छ ।
सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको आन्दोलन भ्रष्टाचार र अव्यवस्थाविरुद्धको जनअसन्तोषमा परिणत भयो । तर, सरकारले दमन गरेर सोमबारमै १९ जनाको ज्यान लिएको थियो । अहिलेसम्म मृतक संख्या २४ पुगेको छ ।
मृत्युपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अहंकार देखाइरहेपछि मंगलबार बिहानैदेखि स्थिति नियन्त्रण बाहिर गयो । आन्दोलनकारीले नेताका घर–व्यक्तिगत लक्षित आक्रमण गरे, जसले राष्ट्रलाई अपूरणीय क्षति पु¥याएको छ ।
देश आन्दोलनकारी कब्जामा
देशभर सडकदेखि सरकारी निकायसम्म आन्दोलनकारीको कब्जा पुगेको छ । सुरक्षाकर्मीहरूले समेत आन्दोलनकारीलाई रोकेनन् । नेपाली सेना समेत खटिए पनि उनीहरूले रोकथाम गर्न सकेनन् ।
आगो निभाउन दमकल पुग्न सकेन, घाइते लैजान एम्बुलेन्स अभाव भयो । राजधानीका अस्पतालहरू भरिए, आवश्यक सेवा दिन समस्या हुने भन्दै निजामती अस्पतालले अन्य अस्पताललाई आह्वान गर्नुपरेको थियो ।
नेतामाथि आक्रमण
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी उनकी पत्नी आरजु देउवा बुढानिलकण्ठस्थित निवासमा आक्रमणमा परे । रगतपच्छे हुने गरी घाइते भएका दुवैलाई सुरक्षाकर्मीले पर्खालमा भर्याङ लगाएर बाहिर निकाले ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटार निवास तोडफोड भयो, चितवनको घरमा आगजनी भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी हुँदा उनकी पत्नी रविलक्ष्मी चित्रकार जलेर घाइते भइन् ।
कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी दलका शीर्ष नेताहरूमाथि आन्दोलनकारीको मुख्य आक्रमण केन्द्रित रह्यो ।
शासकीय संरचना ध्वस्त
सिंहदरबारदेखि प्रधानमन्त्रीको बालुवाटार निवास, राष्ट्रपति कार्यालय शीतल निवाससम्म ध्वस्त भए । राष्ट्रपति रामचन्द्र पौडेललाई समेत सेनाले सुरक्षित स्थानमा लग्यो ।
सर्वोच्च अदालत, महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन, जिल्ला अदालत, विशेष अदालत लगायतमा आक्रमण हुँदा अभिलेख ध्वस्त भए । संसद भवन नयाँ बानेश्वर पूर्ण कब्जामा लिएर आगजनी गरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत आक्रमण भयो ।
कानुनी शासन समाप्त
नेपाली सेना बाहेक अन्य सुरक्षाकर्मीका कार्यालय र प्रहरी बिटहरूमा आगजनी भयो । प्रहरीका हतियार खोसिए, पड्काइए । विभिन्न स्थानका जेलहरूबाट कैदी भागे । कानुनी शासनको कुनै सीमा बाँकी रहेन ।
लुटपाट र आगजनीले त्रास फैलिएको छ । २०४६ र २०६२/०६३ को जनआन्दोलनताका टोलटोलमा सुरक्षा समिति बनेर यस्तो अवस्था हुन नदिएको थियो । तर अहिले कुनै टोल सुरक्षा समिति बनेनन्, जसले क्षति अझ बढायो ।