मुस्ताङ । नेपाल–चीन सीमावर्ती मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीखोलामा अस्थायी डाइभर्सन निर्माण भएपछि मुस्ताङ भन्सार कार्यालयमा रोकिएका मालवाहक कन्टेनरहरू आवागमन गर्न थालेका छन्।
जोमसोम–कोरला सडक खण्डअन्तर्गत निर्माणाधीन घमीखोला पुल अधूरा रहेकाले विगत केही समयदेखि भारी मालवाहक ट्रक र कन्टेनर रोकिएका थिए। स्थानीय निकाय, सडक विभाग र व्यापारीहरूको समन्वयमा अस्थायी डाइभर्सन तयार पारिएपछि मालसामान ढुवानी पुनः सुचारु भएको गोरखापत्र अनलाइनले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार डाइभर्सन निर्माणले तत्कालका लागि राहत प्रदान गरेको छ। उनले भने, “भन्सार सञ्चालनमा आएपछि अपूर्ण पूर्वाधारलाई छिटो सम्पन्न गर्न सम्बन्धित निकायमा निरन्तर ताकेता भइरहेको छ। सडक र पुल दुबै मर्मत गर्न आवश्यक छ।”
यात्रुवाहक तथा साना सवारीहरूका लागि भने पुरानै पुल प्रयोग गर्ने व्यवस्था गरिएको छ। वडा अध्यक्ष थुक्तेन छिरिङ गुरुङका अनुसार भन्सारमार्ग हुँदै आउने सबै ठूला मालवाहक गाडीहरू अहिले नयाँ डाइभर्सनबाट सञ्चालनमा छन्।
अघिल्लो साता भन्सारबाट जाँचपास भएका चीनका सिनो हाइड्रो कर्पोरेशन लिमिटेडका १८ वटा भारी ट्रकहरू मनाङतर्फ पठाइएका छन्। ती ट्रकहरू २० देखि ३० टनभन्दा बढी तौलका भएकाले सडक र पुलको भारवहन क्षमता परीक्षण गर्दै लैजानुपर्ने अवस्था रहेको बताइएकाे छ।
घमीखोला पुल ६ करोड ८० लाख रुपैयाँ लागतमा हिमढुङ ठोक्कर एन्ड इमोटल जेभी कन्स्ट्रक्सनले सन् २०७५ सालदेखि निर्माण सुरु गरेको भए पनि अझै पूरा हुन सकेको छैन।
त्यस्तै, हालसम्म कोरला नाकाबाट ६ वटा मालवाहक गाडी नेपाल प्रवेश गरिसकेका छन्। भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार ४९ वटा मालवाहक गाडी जाँचपास भई कोरला–जोमसोम सडकमार्ग हुँदै पोखरा दिशातर्फ गइसकेका छन्।
कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म २५१ किलोमिटर दूरी रहेको छ। यसमध्ये १८६ किलोमिटर कोरला–जोमसोम–बेनी सडक खण्डमा निर्माणाधीन पुल र सडक ढिलाइ हुँदा नेपाली व्यापारीहरूले साना ट्रकमार्फत सामान ढुवानी गर्दै आएका छन्।
समुन्द्री सतहदेखि ४,६५० मिटर उचाइमा अवस्थित कोरला नाका भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो ४३५ किलोमिटर दूरीको व्यापारिक मार्ग हो, जसलाई दुवै देशका लागि रणनीतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ।