काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा मुलुकले रु एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागका अनुसार साउन महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । सो अवधिमा रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयातमा ११.४२ प्रतिशत र निर्यातमा ९५.७५ प्रतिशत वृद्धि भएको विभागले जनाएको छ ।
छिमेकीसँगै व्यापार घाटा बढी :
भारतसँग रु ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा नेपालले रु ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहोरेको छ ।
त्यस्तै, चीनसँग रु २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु पाँच करोड ४८ लाख बराबरको निर्यात हुँदा रु २७ अर्ब ९४ करोड १२ लाख घाटा भएको छ । तर, जर्मनी, अफगानिस्तान, अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग भने नेपालले व्यापार नाफा गरेको विभागको तथ्यांकले देखाउँछ ।
आयातमा पेट्रोलियम पदार्थ अगाडि:
साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ को भएको छ । विभागका अनुसार रु पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, रु पाँच अर्ब ८८ करोड ७७ लाख बराबरको डिजेल र रु चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।
त्यसैगरी, रु १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल, रु तीन अर्ब ४१ करोड ९२ लाख बराबरको स्मार्टफोन, रु एक अर्ब ७४ करोड ४८ लाख बराबरको मोटरसाइकल, रु तीन अर्ब सात करोड बराबरको फलामजन्य वस्तु र रु एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।
निर्यातमा भटमास तेल पहिलो :
निर्यात हुने वस्तुमध्ये भटमासको तेल पहिलो स्थानमा रहेको छ । साउनमा मात्रै रु १० अर्ब ६९ करोड ५८ लाख बराबरको भटमासको तेल निर्यात भएको विभागले जनाएको छ ।
त्यसैगरी, प्लाईउड, फलफुल जुस, धागो, गलैंचा, अलैंचीलगायत वस्तु पनि प्रमुख निर्यातित उत्पादन बनेका छन् ।