दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चीनको जियोलोजिकल सर्भेले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार करिब ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास उत्पादनको सम्भावना देखिएको छ । तर, यसबारे नेपालले चीनलाई पठाएको उत्खनन प्रस्तावमा हालसम्म कुनै जवाफ आएको छैन भन्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितका अनुसार प्रारम्भिक प्रतिवेदनमा ग्यास भण्डारणको ठोस संकेत पाइएको भए पनि अन्तिम प्रतिवेदन डिसेम्बरमा सार्वजनिक हुनेछ । “चिनियाँ प्राविधिकले अन्तिम रिपोर्ट दिनुअघि नै नेपाल सरकारले उत्खननका लागि चीनलाई प्रस्ताव पठाइसकेको छ, तर जवाफ आएको छैन,” उनले बताए । प्रतिवेदनपछि दुवै देशका प्रतिनिधि बसेर उत्पादनको योजना बनाइने उनले स्पष्ट पारे ।
उत्पादनमा ढिलाइ, स्थानीयको चासो
दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र थापाले जलजलेमा भेटिएको प्राकृतिक मिथेन ग्यास उत्खननका लागि सरकारले ढिलाइ नगरी तत्काल कार्य सुरु गर्नुपर्ने माग गरेका छन् । उनका अनुसार सन् २०१९ देखि भइरहेको प्रारम्भिक अध्ययनले नेपाललाई ५०–६० वर्ष पुग्ने प्राकृतिक ग्यास देखाएको छ, जसलाई सरकारको कार्ययोजना बनाएर उत्पादनमा लग्न जरुरी छ ।
चीन सरकारको अनुदानमा करिब दुई अर्ब १७ करोड रुपैयाँ लागतमा छ वर्ष लगाएर सो अध्ययन गरिएको हो । प्रारम्भिक प्रतिवेदनले भेटिएको ग्यास वातावरणमैत्री मात्र नभई करिब ८५ अर्ब अमेरिकी डलर बराबरको मूल्य हुने अनुमान गरिएको विभागले जनाएको छ ।
उत्खननका लागि पहिल्यै तयारी
चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनी ले २०८० वैशाख २८ देखि ड्रिलिङ गरेर करिब चार हजार १३ मिटर गहिराइसम्म उत्खनन परीक्षण गरेको थियो ।
यसअघि २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । २०१७ अगस्टमा दुवै मुलुकबीच थप सम्झौता भएलगत्तै, २०१९ फेब्रुअरीमा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे बीच औपचारिक सम्झौता भएको थियो ।
उक्त सम्झौता अनुसार चीनले करिब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको हो । संघीय सरकारले पनि उत्खननलाई सहज बनाउन ४५ रोपनी जग्गा अधिग्रहण गर्ने स्वीकृति दिएको थियो ।
दैलेखको जमिनमुनि ठूलो मात्रामा भेटिएको मिथेन ग्यास नेपालका लागि ऊर्जा आत्मनिर्भरता र आर्थिक रुपान्तरणको ठूलो सम्भावना बोकेको छ । तर, उत्खनन प्रक्रियामा ढिलाइ र चीनको जवाफ पर्खाइका कारण यो परियोजना अझै अनिश्चिततामा देखिन्छ ।