मन्त्रीहरूले बजेट एकलौटी कब्जा गरे : प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ज्वालाले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको आपत्ति जनाए ।

दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको उनको आरोप छ । बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको आरोप सांसद ज्वालाले लगाए ।

उनले भने, ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ । मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ । जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् । कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन् । केन्द्रमा ३ करोड भन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *