नेपालले भोगेको भदौ २३ र २४ को राजनीतिक हलचल केवल आन्दोलनको कहानी मात्र होइन, चेतना र जिम्मेवारीको गहिरो पाठ हो। यही दुई दिनमा जेनजी पुस्ताले देखाएको साहस र आत्मबलले शक्तिशाली दुई तिहाइको सरकार ढल्यो, देशको नेतृत्व बद्लियो र नेपाल विश्व सञ्चारमाध्यमको प्रमुख समाचार बन्यो।
घटनाक्रमलाई सम्झनु जरुरी छ। भदौ २० गते तत्कालीन सरकारले सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्दै दर्ता नभएका २६ वटा सञ्जाल बन्द गर्ने निर्णय गर्यो। यही निर्णयले युवा पुस्तालाई गहिरो चोट दियो। भदौ २३ गते माइतीघरबाट सुरु भएको प्रदर्शनमा जेनजी पुस्ताले आचारसंहिता बनाउँदै शान्तिपूर्ण रूपमा आफ्नो माग राखे—सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने, भ्रष्टाचार अन्त्य गर्ने र जनमैत्री शासनको सुनिश्चितता। प्रदर्शन नयाँबानेश्वरतर्फ बढ्दै गर्दा अपराह्न १२:३० बजे देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी भयो। अनपेक्षित कफ्र्युले अन्योल फैलिए। थपिएको भिडले संसद् भवनतर्फ जान खोज्दा प्रहरीको गोली चल्यो। त्यही दिन १९ जना युवकको ज्यान गयो।
भदौ २४ मा आन्दोलन झन् विस्फोटक बन्यो। दसौँ हजार जनताको सहभागीमा व्यापक तोडफोड र आगजनी भयो। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका मात्र होइन, नेताहरूका घर र पार्टी कार्यालयसम्म जले। दुई दिनको यो रक्तपातमा ७७ जनाले ज्यान गुमाए, तीन हजारभन्दा बढी घाइते भए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै दिन राजीनामा दिए, तर हिंसा तुरुन्तै रोकिएन।
राजनीतिक संक्रमण तीव्र गतिमा अघि बढ्यो। दुई तिहाइको स्थिर देखिने सरकार ढलेर भदौ २५ मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो। प्रतिनिधिसभा विघटन भयो र आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकियो। नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको नेतृत्वमा बनेको यो सरकार नै तत्काल स्थिरताको आधार बन्यो।
यी दुई दिनको कम्पनले केवल देशको शक्ति–सन्तुलन हल्लाएको मात्र होइन, नेपाललाई विश्वको केन्द्रमा पुर्यायो। अलजजिरादेखि बीबीसी, सिएनएन, एसोसिएट प्रेस, भारतीय आजतक र द हिन्दु हुँदै टाइम्स अफ नेपालसम्मका मिडियाले यसलाई मुख्य समाचार बनाए। कतिपयले नेपाल बङ्गलादेशको अस्थिरताजस्तो बाटोमा पुग्ने अनुमान गरे। तर अन्तरिम सरकारको गठनले त्यो शंका तत्कालै हरायो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पूर्वप्रधानन्यायाधीश कार्कीको नियुक्तिलाई महिला नेतृत्वको ऐतिहासिक क्षण भन्दै प्रशंसा गरे, संयुक्त राष्ट्रसङ्घसहित विश्वका सरकारहरूले बधाई सन्देश पठाए।
यस घटनाक्रमले नेतृत्वका लागि ठूला सन्देश दिएको छ। पहिलो, डिजिटल युगको युवा पुस्तालाई बेवास्ता गर्नु घातक छ। सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले केवल प्रविधिलाई होइन, स्वतन्त्रताको आत्मालाई नै आहत गर्यो। दोस्रो, शान्तिपूर्ण मागलाई बलपूर्वक दबाउन खोज्दा आन्दोलन विस्फोटक हुन सक्छ। तेस्रो, संकटको घडीमा संयम, पारदर्शिता र समयमै संवाद भनेको मुलुकलाई सहजै स्थिरतामा फर्काउने मूल कुञ्जी हो।
भदौ २० देखि २५ सम्मको क्रमबद्ध घटनाले प्रमाणित गर्यो—लोकतान्त्रिक चेतना कुनै प्रशासनिक आदेशले रोकिँदैन। जेनजी पुस्ताको दुईदिने जागरण केवल विद्रोह होइन, नयाँ राजनीतिक संस्कृतिको जग हो। अबको जिम्मेवारी नेतृत्वको हो—यो उर्जालाई स्थायी शान्ति, सुशासन र लोकतान्त्रिक मजबुत आधारमा रूपान्तरण गर्ने कि फेरि पुरानै गल्ती दोहोर्याउने?
नेपाल विश्वको केन्द्रमा छ, तर यही केन्द्रमा स्थिर रहन अब सचेत, पारदर्शी र जनउत्तरदायी शासन नै एक मात्र विकल्प हो। यही घण्टीले नेतृत्वलाई समयमै चेताउने हो, नत्र अर्को भदौ २३ फेरि दोहोरिन सक्छ।