काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले नेपालमा सञ्चालित एमसिसी (मिलेनियम च्यालेञ्ज कर्पोरेसन) परियोजना अन्तर्गतका कार्यक्रमलाई निरन्तरता पाएको जानकारी गराएको छ।
अमेरिकी सरकारबाट अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरिएको हो । एमसिए नेपालले बुधबार विज्ञप्ति निकाल्दै अमेरिकी सरकारको यो निर्णयलाई स्वागत गरेको छ।
एमसिए–नेपालले २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसिसीसँग गरिरहेको छ।
एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेपछि अमेरिकी सहायताका परियोजना रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
त्यसपछि एमसिसीलाई ९० दिनको पुनर्मूल्यांकन समय राखेर त्यसअन्तर्गतका कार्यक्रम स्थगित गर्न भनिएको थियो।
तर, चैत ८ गते एमसिसी अन्तर्गतका सबै काम रोक्न नपर्ने गरी अमेरिकी सरकारले पत्र पठाएको थियो । एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो।
उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख गरिएको छ।
एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भएका छन्।
एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो।