चीन नयाँ ऊर्जा प्रविधिमा विश्वकै अग्रस्थानमा

बेइजिङ । चीनले नयाँ ऊर्जा प्रविधि र उपकरण विकासमा उल्लेखनीय सफलता हासिल गर्दै विश्वमै अग्रस्थान प्राप्त गरेको छ। चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीका अनुसार हालसम्म विश्वभर दर्ता भएका नयाँ ऊर्जासम्बन्धी प्रविधिगत अधिकारमध्ये ४० प्रतिशतभन्दा बढी चीनकै नाममा दर्ता छन्।

मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चौधौँ पाँचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै विश्वस्तरका धेरै कीर्तिमान कायम गरेको छ।”

रूपान्तरण र भण्डारण प्रविधिमा अग्रता

चीनले सौर्य ऊर्जाको रूपान्तरण दक्षता उल्लेखनीय रूपमा बढाउँदै अत्याधुनिक प्रविधि विकास गरेको छ। समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका टरबाइन प्रणाली निर्माणमा समेत चीन अग्रपंक्तिमा पुगेको छ।
त्यस्तै, नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीको विकास र प्रयोगमा पनि चीन अहिले विश्वकै अगाडि रहेको छ।

हरित विकासमा योगदान

प्रविधि विकाससँगै चीनले वातावरण संरक्षण र दिगो विकासलाई विशेष प्राथमिकता दिएको छ। चीनमा विकास भएका प्रविधिहरू अहिले विश्वका धेरै देशहरूमा निर्यात भई प्रयोग भइरहेका छन्, जसले स्वच्छ ऊर्जा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्।

वाङले थपे, “हामी स्वच्छ, सुरक्षित र भरपर्दो ऊर्जा भविष्य निर्माणका लागि अनुसन्धान, विकास र लगानीमा निरन्तर अग्रसर छौं। चीन विश्व समुदायसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक छ।”

बढ्दो जलवायु संकट र ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दै, चीनले नयाँ ऊर्जा प्रविधिमा गरेको प्रगति विश्वकै लागि प्रेरणादायी बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *