ओडिशा। भारतको ओडिशा राज्यस्थित ऐतिहासिक शहर कटकमा दुई समुदायबीच बढेको साम्प्रदायिक तनावका कारण प्रशासनले ३६ घण्टाको कर्फ्यू जारी गरेको छ। साथै, स्थिति नियन्त्रणमा लिन इन्टरनेट र सामाजिक सञ्जाल सेवाहरू अस्थायी रूपमा बन्द गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तनावको सुरु दुर्गा पूजा विसर्जनका क्रममा भएको झडपबाट भएको हो। शनिबारको घटनापछि अवस्था थप जटिल बनेको बताइन्छ। आइतबार अनुमति नदिईकन विश्व हिन्दू महासंघका कार्यकर्ताले बाइक र्याली निकालेपछि झडप पुनः चर्किएको थियो। प्रहरीका अनुसार भीड नियन्त्रणका क्रममा प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गर्दा कम्तीमा आठ जना प्रहरी घाइते भएका छन्।
उक्त घटनापछि विश्व हिन्दू परिषद् (VHP) ले सोमबार १२ घण्टे बन्दको आह्वान गरेको छ। प्रशासनले यस अवधिमा संवेदनशील क्षेत्रहरूमा कडा सुरक्षा व्यवस्था गरेको र अपराधिक गतिविधिमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै “कानून तोड्ने जो कोहीमाथि पनि कडा कदम चालिनेछ” बताएका छन्। विपक्षी दल बिजु जनता दल (BJD) का नेता नवीन पटनायकले भने सरकारले समयमै कदम नचालेको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रशासनले स्थानीय बासिन्दालाई घरमै बस्न र अफवाहमा नफस्न आग्रह गरेको छ। अहिले कटकका अधिकांश भागमा स्थिति तनावग्रस्त तर नियन्त्रणमा रहेको बताइन्छ।