इरानमाथिको हमलामा ब्रिक्सले गर्‍यो आलोचना

काठमाडौं । ‘ब्रिक्स’ समूहले इरानविरुद्ध भएका सैन्य हमलाको आलोचना गरेको छ । ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिकालगायत अन्य देशहरू समावेश ‘ब्रिक्स’ले इरानमाथि इजरायलले गरेको आक्रमण निन्दनीय भएको बताएको हो ।

‘ब्रिक्स’ले संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी १३ जुनदेखि इरानविरुद्ध भएका सैन्य हमलाहरूमा गम्भीर चिन्ता व्यक्त गर्छौं । यो हमला अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन हो ।”

ब्रिक्सले सबै पक्षहरूलाई वर्तमान संवाद र कुटनीतिक माध्यमबाट वार्ता गर्न अपिल गर्दै शान्तिपूर्ण तरिकाले मतभेदहरू समाधान गर्नुपर्ने बताएको छ ।

समूहले थप भनेको छ, “हामी ‘शान्तिपूर्ण परमाणु प्रतिष्ठानहरू’ माथिको कुनै पनि हमलामा गम्भीर चिन्ता व्यक्त गर्छौं, यो अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) को सम्बन्धित प्रस्तावहरूको उल्लंघन हो ।”
सशस्त्र द्वन्द्वहरूमा समेत मानिस र वातावरणलाई जोगाउन परमाणु सुरक्षा, संरक्षण र सुरक्षालाई सधैँ कायम राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

“यस सन्दर्भमा, हामी क्षेत्रीय चुनौतीहरू समाधान गर्न लक्षित कूटनीतिक पहलहरूलाई समर्थन गर्ने कुरा पुनः दोहोर्‍याउँछौँ,” वक्तव्यमा भनिएको छ ।

अमेरिका र इजरायलले इरानको फोर्दो, इस्फहान र नातान्जका परमाणु सुविधाहरूमाथि हमला गरेका थिए ।

अमेरिका र यजरायललाई आलोचना गरिएको ब्रिक्सको यो वक्तव्यमा भारतले पनि समर्थन गरेको छ । भारतले आफूलाई अलग गरेको छैन । तर, यसअघि इरानमाथिको हमलाको लागि इजरायलको आलोचना गरिएको शांघाई सहयोग संगठन (एससीओ) वक्तव्यमा भने भारतले आफूलाई अलग गरेको थियो ।

ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाबाट बनेको यो समूहलाई ब्रिक्स भनिन्छ । तर, अहिले यसको विस्तार भएको छ । अब ब्रिक्समा साउदी अरब, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि समावेश छन् । इन्डियन एक्सप्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *