गाजामा युद्धविराम गर्ने सम्झौता इजरायलद्वारा अनुमोदन, सोमबारसम्म सबै बन्धक रिहा हुने

काठमाडौँ। मध्यपूर्वको द्वन्द्वग्रस्त क्षेत्र गाजामा अब शान्तिको आशा झल्किएको छ। इजरायल सरकारले युद्धविराम र बन्धक मुक्तिका लागि तयार गरिएको सम्झौतामा औपचारिक स्वीकृति प्रदान गरेसँगै नजिकिँदै गएको सोमबारसम्म सबै बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले जारी गरेको वक्तव्यमा सरकारले “मृत वा जीवित सबै बन्धकहरूलाई स्वदेश फर्काउने योजनालाई अनुमोदन गरेको” उल्लेख छ। सम्झौता कार्यान्वयनमा आएपछि गाजाबाट इजरायली सेना क्रमशः फिर्ता हुने, बन्धक तथा शवहरूको आदान–प्रदान हुने र गाजामा मानवीय सहायता सहज रूपमा प्रवेश गर्ने मार्ग खुल्ने विश्वास गरिएको छ।

यो सहमति अमेरिकी नेतृत्वमा अघि बढाइएको “गाजा शान्ति योजनाको पहिलो चरण” हो, जसअन्तर्गत इजरायलले कैयौँ प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गर्ने तयारी गरेको छ।

यसैबीच, अमेरिकाले गाजामा करिब दुई सय सैनिक पठाई “कोर्डिनेसन सेन्टर” स्थापना गर्ने निर्णय गरेको छ। उक्त केन्द्रले क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक सहकार्य र समन्वय गर्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस समझदारीलाई ऐतिहासिक अवसरको रूपमा चित्रित गर्दै सोमबार वा मंगलबारसम्म हमासद्वारा बन्धक बनाइएका सबै व्यक्ति मुक्त हुने विश्वास व्यक्त गरेका छन्।

अमेरिकी सञ्जाल सिएनएनका अनुसार हाल हमासको नियन्त्रणमा रहेका २० जना बन्धक जीवित छन्। तर, नेपालका विपिन जोशी र इजरायली सैनिक तामिर निमरोदीको अवस्था अझै अज्ञात छ। त्यसैगरी, हमासले नियन्त्रणमा लिएका २६ जना बन्धकको मृत्यु भइसकेको पुष्टि गरिएको छ।

गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको यो पहलले क्षेत्रीय स्थायित्वतर्फको पहिलो ठोस कदमको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *