चीन । चीनको सुपरसोनिक बहुउद्देश्यीय फाइटर J-10C को हतियार र प्रणालीगत क्षमता उल्लेखनीय रूपमा सुधारिएको दाबी गरिएको छ । मुख्य डिजाइनर वाङ हैफेङका अनुसार J-10C मा आधुनिक अवियनिक्स, उच्च क्षमताको रडार र इलेक्ट्रोनिक युद्ध प्रणाली समावेश गरिएपछि यसले पुरानो J-10 को तुलनामा निकै फरक र बलियो प्रदर्शन दिनेछ।
परम्परागत J-10 मोडलले करिब १० प्रकारका हतियार मात्र बोकेको बेला, J-10C मा ४० भन्दा बढी फरक किसिमका हतियार माउन्ट गर्न सकिने बताइएको छ — जसले यसलाई हवाई युद्ध, भू आक्रमण र समुद्री अपरेसनमा बहुमुखी प्रयोगयोग्य बनाउँछ।

वाङले J-10C को एयर-इनलेट हावा प्रणालीमा गरिएको परिवर्तन पनि औँल्याए; अघिल्लो adjustment-plate प्रणालीको सट्टा नयाँ इनलेटले विमानको एरोडायनामिक्स र ईन्धन दक्षता सुधार्न मद्दत गरेको उनको भनाइ छ।
J-10C सर्वसाधारणमा जुलाई २०१७ मा प्रस्तुत गरिएको थियो र चीनले यसलाई तेस्रो पुस्ताको सुपरसोनिक फाइटरको श्रेणीमा राखेको छ , छोटो र मध्यम दूरीमा हवाई प्रभुत्व कायम राख्न र सटीक लक्ष्य हमला गर्न सक्षम विमानका रूपमा प्रचार गरिएको छ।

यद्यपि निर्माताको यस दाबीले J-10C को बहुउद्देश्यीय क्षमतामा नयाँ आयाम देखाउँछ, यसको वास्तविक प्रभाव र सञ्चालनम्मा सफलता निर्धारण गर्न प्रशिक्षण, तैनाथी नीति तथा वास्तविक परीक्षणसम्बन्धी थप जानकारी आवश्यक हुनेछ।