छात्रवृत्ति कटौतीले मुक्त कमलरीको भविष्य संकटमा, छात्रावास सुनसान

दाङ। सरकारले मुक्त कमलरीका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्ति तथा सेवा–सुविधा कटौती गरेपछि छात्रावासमा बसेर अध्ययन गर्ने मुक्त कमलरीहरू अहिले गम्भीर संकटमा परेका छन् । अभिभावकविहीन र अत्यन्त विपन्न परिवारका मुक्त कमलरीहरू बस्दै आएको लमही नगरपालिका–३, नर्तीस्थित लावाजुनी छात्रावासमा अहिले खान–बस्न र पढाइ निरन्तरता दिन कठिनाइ भएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले बताईन् ।

“छात्रावासमा रहेका बहिनीहरू निकै समस्यामा छन्,” अध्यक्ष चौधरीले भनिन्, “संस्थासँग स्रोत छैन। केही दातृ निकायले न्यानो लुगा र शैक्षिक सामग्री सहयोग गरे पनि रासनको अभाव छ।” उनका अनुसार, मुक्त कमलरीहरूले आफन्तले पठाइदिने चामल–दालका भरमा पढाइ धानिरहेका छन्।

सरकारले विगत तीन वर्षदेखि छात्रवृत्ति तथा छात्रावास सुविधा रोकेपछि समस्या झनै चुलिएको मञ्चको भनाइ छ। यसअघि सरकारले आधारभूत तहमा १,५००, माध्यमिक तहमा १,८००, प्लस–टुमा ५,००० र स्नातक तहसम्म १०,००० रुपैयाँसम्म छात्रवृत्ति दिने गर्दै आएको थियो। विद्यार्थीलाई छात्रावासमा बस्न मासिक ४,००० रुपैयाँ सहयोग पनि दिइँथ्यो, तर अहिले सबै सुविधा बन्द गरिएको छ।

लावाजुनी छात्रावासमा बस्दै देउखुरी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेकी कृति चौधरी भन्छिन्, “प्लस–टुसम्म पाउने छात्रवृत्ति स्नातकमा आएपछि रोकिन आयो। त्यसपछि खर्च जुटाउन निकै कठिन भयो।” उस्तै समस्या बीबीएस चौथो सेमेस्टर पढिरहेकी आशा चौधरीले पनि सुनाइन्। “पहिले १३१ जना बस्ने छात्रावास अहिले १० जनामा झरेको छ,” उनले बताए ।

विपन्न र अभिभावकविहीन मुक्त कमलरीका लागि २०६८ सालमा निर्माण गरिएको यो छात्रावासमा १४ कोठा रहेर पश्चिम तराईका धेरै विद्यार्थीले आश्रय पाएका थिए। मञ्चका अनुसार २०८० सालमा ६८ जना बस्दै आए पनि हाल संख्या तीव्र रूपमा घटेको छ।

यसैबीच, मुक्त कमलरीलगायत अतिविपन्न र सीमान्तकृत बालबालिकाका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सनाले बताए। “छात्रवृत्ति छुट्याएको छु, यदि पाएका छैनन् भने बुझेर पठाउने व्यवस्था गर्छु,” मन्त्री तिमिल्सनाले भने।

देशभर अहिले एक हजार २७४ जना मुक्त कमलरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत छन्। लुम्बिनी प्रदेशमा मात्रै स्नातकदेखि स्नातकोत्तर तहसम्म ८५ जना र सुदूरपश्चिममा ४२ जना अध्ययनरत छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा करिब १२,७६९ जना मुक्त कमलरी रहेको मञ्चले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *