नागार्जुनका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यो फैसला गरेको हो ।

बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना तोकिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी ३ वर्ष कैद र बिगोको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना तोकिएको छ । साथै, गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत हुने भएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रसेवकलाई थप १० प्रतिशत (३ महिना १० दिन) कैद सजाय पनि थपिएको छ ।

बस्नेतले पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र ती कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट १ करोड १४ लाख २३ हजार ५०२ रुपैयाँ ८० पैसा पीडित राहत कोषमा क्षतिपूर्तिका रूपमा दाखिला गर्नुपर्नेछ ।

यसैगरी, कँडेललाई पनि ८ वर्ष कैद सजाय सुनाइएको छ । कँडेल र दुई कम्पनीले २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्नेछ । बस्नेत र कँडेलसहित दुई कम्पनीविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको आरोप थियो। बस्नेत नेपाली कांग्रेसबाट लगातार दुई कार्यकाल मेयर निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *