बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकलाई प्राथमिकता दिएका छौं : मन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सम्पन्न गर्न २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । जुन गतवर्षको तुलनामा २ अर्ब रुपैयाँले बढी हो ।

उनले भने, ‘ हामीले फास्ट ट्र्याकमा २४ अर्ब ४९ करोड ४७ लाख रकम विनियोजन गरिएको छ । बजेट अर्थमन्त्रालयमार्फत विनियोजन भएको भएपनि सिलिङ चाँही हाम्रो मन्त्रालयमार्फत हुन्छ । यो वर्ष फास्ट ट्र्याकमा गतवर्षभन्दा २ अर्ब बढी बजेट विनियोजन गरिएको छ ।’

मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै त्यसको पुर्ननिर्माणको लागि १९ अर्ब स्रोत सहमति पाएको समेत बताए ।

‘हाम्रो बजेटको विनियोजन राष्ट्रिय राजमार्गहरु, राष्ट्रिय गौरवका आयोजनाहरु , राष्ट्रिय महत्वका आयोजनाहरु, रणनीतिक महत्वका आयोजनाहरु र अहिले निर्वाचन रणनीतिक सडकहरुलाई पनि प्राथमिकताका साथ समानुपातिक ढंगले सबै निर्वाचन क्षेत्रमा विनियोजन गरेको हुँदा यसलाई पनि राखेको छु ।’ उनले भने ।

उनले भने, ‘गत वर्षको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण ठुलो क्षति भयो । त्यसले पुर्वाधारहरुमा समेत क्षति पुर्‍याएको हुँदा १९ अर्ब स्रोत सहमति दिएको थियो ।’

बजेट विनियोजनको परम्परागत शैलीमा परिवर्तन गर्न नसकिएकोमा आफूलाई दुःख लागेको समेत मन्त्री दाहालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *