बैतडी। दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन सात वर्षदेखि अधुरो अवस्थामा रहँदा स्थानीयवासीको स्वास्थ्य सेवा पहुँच प्रभावित भइरहेको छ। भवन निर्माण रोकिँदा परिसर झाडी र बोटबिरुवाले ढाक्न थालेको छ।
नगरपालिकाले २०७७ सालमा बिग बी एण्ड कम्पनीसँग स्वास्थ्यचौकी भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार २०८० सालभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म भवन अधुरो छ।
स्थानीय नारायण भट्टले गुनासो गर्दै भने , “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा नगरपालिकाले बेवास्ता गरेको छ। हामी वर्षौं प्रतीक्षामा छौं, तर भवन रुग्ण अवस्थामा पुगेको छ।” स्थानीय सुनीता भट्टले थपिन्, “निर्माण थालनी भएको केही समयमै बन्द भयो, अब भवनभन्दा झाडी बढी देखिन्छ।”
दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टका अनुसार, निर्माण कार्य पुनः सुरु गर्न निर्माण कम्पनीसँग छलफल भइरहेको छ। केही प्राविधिक समस्या समाधान भएपछि काम सुरु हुने उनको भनाइ छ।
निर्माण व्यवसायी विकास चन्दले पनि नगरपालिकाले आवश्यक सहजीकरणको आश्वासन दिएको र नजिकैका दिनमा काम पुनः सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। भवन निर्माण २०७८ सालमा तत्कालीन प्राविधिक कर्मचारीसँग घुस मागको विवादपछि रोकिएको थियो र त्यसयता स्थगित रहेको छ।
स्थानीयवासीले स्वास्थ्य सेवाको पहुँच प्रभावित हुने गरेको गुनासो गरेकाले अब निर्माण कार्य चाँडै सुरु गरिनुपर्ने आवश्यकतालाई जोड दिइएको छ।