रेडिमेड जुत्ताको भीडमा हराउँदै धनकुटाको पुर्ख्यौली सीप

धनकुटा । धनकुटा नगरपालिका–७, सङ्गमटोलका अजयकुमार बोगटी अहिले पनि आफ्ना बाबु–बाजेले सिकाएर अघि बढाएका पुर्ख्यौली पेशामै टाँसिइ रहेका छन् , छालाबाट जुत्ता–चप्पल बनाउने काममा। तर बजारमा रेडिमेड जुत्ता–चप्पलको बाढी आएपछि चार दशकभन्दा पुरानो यो सीप अहिले अस्तित्व जोगाउन संघर्षरत छ।

एक समय धनकुटा बजारमा जुत्ता–चप्पल किन्ने भीड लाग्थ्यो, ‘विजय सु सेन्टर’ र ‘मोहन सु सेन्टर’ जस्ता साना उद्योगहरू चम्कन्थे। अहिले ती उद्योगहरू सुनसान छन्। रेडिमेड उत्पादनले बजार ओगट्दै गएपछि घरेलु उद्योगहरू क्रमशः बन्द हुँदै गएका छन्।

अजयकुमार बोगटी भन्छन्, “हामीले बनाएको जुत्ता टिकाउ र गुणस्तरीय हुन्छ, तर बजारले सस्तो रेडिमेड रोज्छ। अहिले काम मात्रै हैन, पेशा नै संकटमा छ।”

धनकुटाको सङ्गमटोलमा सार्की समुदायका रम्तेल, बोगटी, रोकालगायतका परिवारहरूले पुस्तौँदेखि जुत्ता बनाउने काम गर्दै आएका थिए। अहिले त्यस्ता मध्ये केहीमात्र सक्रिय छन्। स्थानीय बजारभन्दा बाहिरका सस्ता र आकर्षक रेडिमेड जुत्ताले पुरानो सीपलाई विस्थापन गरिरहेको उनीहरूको गुनासो छ।

पहिले यहाँ बनाइएका छालाका जुत्ताहरू देशका विभिन्न सहरमा लोकप्रिय थिए। टिकाउपन र डिजाइको कारण कतिपय उद्यमीले राष्ट्रिय पुरस्कारसमेत पाएका थिए। अहिले भने ती जुत्ता–चप्पल बजारमा टिक्न नसक्ने अवस्थामा पुगेका छन्।

धनकुटा बजारमा घरेलु प्रविधिबाट उत्पादन हुने जुत्ताको मूल्य १२ सयदेखि तीन हजार रुपैयाँसम्म पर्छ। तर सस्तो आयातित जुत्ताले त्यसको मूल्य प्रतिस्पर्धा गर्न नसक्ने बनाएको छ। मोहन सु सेन्टरका सञ्चालक कुमार बोगटी भन्छन्, “लागत धेरै, उत्पादन कम र बिक्री घट्दै—अब यो कामले घर चल्दैन।”

युवापुस्ता भने यो पेशाबाट टाढा हुन थालेका छन्। स्थायी आम्दानी र भविष्यको ग्यारेन्टी नदेखिएकाले उनीहरूले पुर्ख्यौली सीपलाई निरन्तरता दिन छाडेका छन्।

हाल घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा करिब १२–१३ वटा जुत्ता–चप्पल उद्योग दर्ता भएका छन्, तर सक्रिय भने थोरै छन्। कार्यालयले प्रविधि हस्तान्तरण र तालिमका कार्यक्रम सञ्चालन गर्दै परम्परागत सीप जोगाउने प्रयास गरिरहेको जनाएको छ।

तर बजारको कठोर प्रतिस्पर्धा र उपभोक्ताको रुचि परिवर्तनबीच धनकुटाको यो पुर्ख्यौली सीप—छालाको जुत्ता बनाउने परम्परा—अब इतिहास बन्ने डर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *