स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन सुरु गरेको छ। गाउँपालिकाको आयुर्वेद शाखाले दुई वटा मेसिनको प्रयोग गरी स्थानीय जडीबुटीबाट औषधि उत्पादन थालेको हो।
स्थानीय रूपमा उपलब्ध हर्रो, बर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाती, धयरी लगायतका जडीबुटीहरू संकलन गरी औषधि तयार गरिएको छ। पहिलो चरणमा आमलकी चूर्ण, हरितकी चूर्ण, अश्वगन्धा चूर्ण र अर्जुन बीज चूर्ण जस्ता एकल औषधिहरू उत्पादन सुरु गरिएको छ भने त्रिफला, सितोपलादि र त्रिकटु जस्ता मिश्रित औषधिहरू पनि उत्पादनको सूचीमा समावेश गरिएको छ।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै स्नेहन, स्वेदन र पञ्चकर्मका लागि वातसामक तेल पनि उत्पादन गरिएको छ। पालिका अध्यक्ष प्रकाश तिवारीले गाउँकै स्रोतसाधन प्रयोग गरी औषधि उत्पादन गर्नुले स्वदेशी ज्ञानको संरक्षण, आत्मनिर्भरता र स्वास्थ्य सेवा सुदृढीकरणमा मद्दत पुगेको बताए।
गाउँपालिकाले उत्पादित औषधि टोल–टोलमा पुगाएर स्थानीय जनताको आवश्यकताअनुसार वितरण गर्ने योजना बनाएको छ। यसैगरी, हप्तैपिच्छे योग, ध्यान र पोषणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको गाउँपालिकाले स्तनपायी आमालाई दुग्धबर्धक औषधीसहित सतवारी चूर्ण वितरण गर्दै आएको छ।
प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार, औषधी उत्पादनले स्थानीय जडीबुटीको मूल्य बढाउने मात्र होइन, गाउँकै स्वास्थ्य सेवामा सहजता ल्याउने ऐतिहासिक कदम हो। यस पहलसँगै गाउँपालिकाले स्वदेशी ज्ञान संरक्षण, स्वास्थ्य सेवा सुदृढीकरण र आत्मनिर्भरता हासिल गर्ने दिशामा ठोस कदम चालेको छ।