लैङ्गिक हिंसा केवल व्यक्तिगत पीडा होइन, यो समाजको संरचनागत कमजोरी र चिरफार गर्न नसकिएको पुरातन सोचको परिणाम हो। यही कारण, हरेक वर्ष मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल औपचारिकता होइन, यो चेतनाको दियो बल्ने, मौनता भंग हुने र न्यायको आवाज बुलन्द बन्ने महत्वपूर्ण समय हो। विश्वकै समस्या बनेको लैङ्गिक हिंसा आज पनि घर, विद्यालय, कार्यस्थल, सार्वजनिक स्थानदेखि लिएर सामाजिक संस्कार र परम्परासम्म विभिन्न रूपमै जारी छ। महिलामाथि हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक र यौनिक हिंसाले उनीहरूको जीवन, अस्मिता र अधिकारमाथि गम्भीर चोट पुर्याइरहेको छ।
स्रोतसाधन, अवसर, निर्णय–क्षमता र हक–अधिकारको असमान पहुँचले महिलालाई द्वितीय दर्जामा राख्ने सोच अझै पनि यथावत छ। बालविवाह, छाउपडी, बोक्सी आरोप, देउकी, बहुविवाहजस्ता कुसंस्कार र यौनजन्य हिंसाका घटना आज पनि धेरै ठाउँमा सामान्यझैँ मानिन्छन्। शरीरमा लागेको चोटजति देखिन्छ, मनमा परेको घाउ त्यति स्पष्ट नदेखिन सक्छ तर, त्यसको प्रभाव अझ गहिरो हुन्छ। धम्की, अपमान, गालीगलौज, जबरजस्ती, तिरस्कार र स्वतन्त्रतामा हस्तक्षेपजस्ता व्यवहारले महिलाको आत्मसम्मानलाई भत्काइदिन्छ।
नेपालको कानुनी प्रावधानले लैङ्गिक हिंसालाई स्पष्ट रूपमा अपराधको श्रेणीमा राखे पनि सामाजिक मानसिकता परिवर्तन गर्न भने अझै लामो यात्रा बाँकी छ। कानूनले बन्देज लगाउँछ, तर चेतनाले मात्र अन्याय अन्त्य गर्छ। त्यसकारण, १६ दिने अभियानले हामीलाई एक पटक पुनः सम्झाउँछ, हिंसा घटाउने कार्य राज्य, समाज र परिवार सबैको साझा जिम्मेवारी हो।
आजको दिन महिलालाई केवल ‘सुरक्षाको विषय’ का रूपमा होइन, समान अधिकार, समान अवसर र समान सम्मानका साथ समाजको बराबरी सहभागीका रूपमा स्वीकार गर्ने समय हो। हामीले हिंसा सहनेहरूले बोल्न सकून्, नबोल्नेहरूले पनि सुरक्षित महसुस गरून्, र हिंसा गर्नेहरूले दण्डित हुने व्यवस्था प्रभावकारी बनोस् भन्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले उठाएको प्रत्येक आवाज परिवर्तनका लागि उर्जाको स्रोत हो। अब समाज मौन बस्ने समय होइन, अन्याय समाप्त नहुन्जेलसम्म आवाज उठाइरहने प्रतिज्ञा गर्ने समय हो। न्याय, सम्मान र समानताको बाटो यहीँबाट सुरु हुन्छ।
