नेपाली क्रिकेटले फेरि एक पटक मुलुकभर उत्साह र गौरवको लहर चलाएको छ। राजनीतिक अस्थिरता र निराशाबीच पनि नेपाली क्रिकेटरहरूले राष्ट्रलाई खुसी र गर्वको कारण दिएका छन्। ओमानमा सम्पन्न आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा दुई खेल बाँकी रहँदै नेपालले सन् २०२६ को विश्वकपमा स्थान सुनिश्चित गरेको छ , यो केवल खेलकुदको जित होइन, राष्ट्रिय आत्मविश्वास पुनर्स्थापनाको ऐतिहासिक क्षण हो।
नेपालको यो सफलता केवल मैदानमा भएको उत्कृष्ट प्रदर्शनको परिणाम होइन, संस्थागत तयारी र दूरदर्शी नेतृत्वको प्रतिफल पनि हो। नेपाल क्रिकेट सङ्घ (क्यान) लामो समयपछि अबको यो सफलता संयोजन, योजना र व्यवस्थापनमा आएको सुधारको प्रमाण बनेको छ। सन् २०१६ मा प्रतिबन्ध झेल्नुपरेको यही संस्था आज नेपाललाई विश्वकपसम्म पुर्याउने सशक्त सङ्गठनका रूपमा उदाएको छ।
नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो। तर यसपालिको यात्रा फरक छ , नेपाल यसपटक अपराजित टिमका रूपमा विश्वकपको ढोका ढकढक्याएको छ। समूह चरणमा जापान र कुवेतलाई सहजै पराजित गरेपछि नेपालले सुपर सिक्समा घरेलु टिम ओमान, युएई र कतारलाई पनि हराउँदै शीर्ष स्थान सुरक्षित गर्यो। अब सामोआविरुद्धको खेल जिते नेपाल च्याम्पियन बन्नेछ, तर मूल उपलब्धि त नेपाल पहिले नै हासिल गरिसकेको छ , विश्वकपमा पुनः प्रवेश।
यस सफलतामागि तयार योजनाको ठूलो हात छ। क्यानले विश्वकप छनोटअघि भारत र अष्ट्रेलियामा लामो प्रशिक्षणको व्यवस्था गर्यो। त्यसपछि नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० शृङ्खला खेल्दै पहिलो पटक पूर्ण सदस्य राष्ट्रमाथि विजय हासिल गर्यो। त्यही आत्मविश्वास ओमानसम्म पुगेको हो — जहाँ नेपालले कुनै टिमलाई मौका नदिँदै विश्वकपको टिकट हात पार्यो।
यो उपलब्धिले प्रमाणित गरेको छ , यदि इच्छाशक्ति, योजना र सुदृढ संस्थागत समन्वय मिले भने नेपालजस्तो देशले पनि विश्व क्रिकेटमा आफ्नो छाप छोड्न सक्छ। अबको लक्ष्य अझ ठूलो छ , विश्वकपमा ठूला क्रिकेट राष्ट्रहरूमाथि जित निकाल्ने। चुनौती कठिन छ, तर नेपाली क्रिकेटरहरूका आँखामा अब डर छैन; उनीहरूमा आत्मविश्वास छ, जुन जित्ने राष्ट्रको चिनारी हो।
नेपाललाई आज विश्व क्रिकेटले केवल ‘एसोसिएट’ राष्ट्रका रूपमा होइन, ‘संभावित टेस्ट राष्ट्र’ का रूपमा हेर्न थालेको छ। यस सम्भावनालाई स्थायी बनाउने जिम्मेवारी खेलाडी र प्रशिक्षकसँगै क्यान र सरकारले पनि बराबर रूपमा बोक्नुपर्छ। क्रिकेट नेपालमा खेल मात्रै होइन, राष्ट्रिय गौरवको प्रतीक बन्दै गएको छ , यसलाई निरन्तरता दिने काम सबैको साझा जिम्मेवारी हो।