शैलुङका थामी बालबालिकालाई न्यानो पोसाक वितरण, कठ्याङ्ग्रिँदो जाडोमा राहत

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. १ स्थित डुडुवा र गादीगाउँका थामी बस्तीका ४२ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रका बालबालिकालाई प्रत्येक वर्ष जाडो मौसममा विद्यालय जान समस्यामा पर्ने भएकाले यो सहयोग अत्यन्तै उपयोगी भएको स्थानीयले बताएका छन् ।

कडा चिसोका कारण बालबालिकामा शारीरिक असुविधा बढ्दै गएको अवस्थामा स्थानीय राजकुमार तामाङको पहलमा विद्यालय पोसाक वितरण कार्यक्रम आयोजना गरिएको हो । तामाङको सक्रिय नेतृत्वमा सामाजिक अभियन्ता रेखा तामाङले समेत सहयोग जुटाएपछि अभियानले गति पाएको थियो । आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य मिन्नत तामाङ (घम्चा) पनि अभियानमा सक्रिय भई समन्वय गरेका थिए ।

पोसाक वितरण कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष प्रेमकुमार लामा, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । बालबालिकाको आवश्यकताका आधारमा नयाँ पोसाक उपलब्ध गराइएको र भविष्यमा पनि निरन्तर सहयोगको प्रतिवद्धता व्यक्त गरिएको आयोजकले जनाएका छन् ।

थामी बस्तीका अभिभावकले भने, “कठ्याङ्ग्रिँदो चिसोमा न्यानो पोसाक नहुँदा विद्यालय जानै कठिन थियो, अब बालबालिकाले सहज रूपमा पढ्न सक्ने वातावरण बनेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *