झापा । झापाको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालय विगत दुई दशकदेखि प्रत्येक बर्खायाम ठप्प हुँदै आएको छ । कारण हो– विद्यालय पुग्ने बाटोमै अवरोध, मेची नदीमा पुल नहुनु ।
‘मेची पारिको नेपाल’ भनेर चिनिने उक्त बस्तीमा कक्षा २ सम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ११ जना विद्यार्थी छन् । तर असारदेखि असोजसम्म विद्यालयमा पढाइ हुन नसक्ने वार्षिक समस्या बनेको छ ।
पुल नभएकै कारण पढाइ रोकिने
विद्यालयमा कार्यरत प्रधानाध्यापक लोकेन्द्र थपलिया, शिक्षिका रमादेवी ढकाल र कर्मचारी राजेश राजवंशी तीनै जनाको बसोबास मेचीवारि पर्छ । बर्खायाममा मेची नदीमा पानीको सतह अत्यधिक बढ्ने हुँदा उनीहरूले विद्यालय पुग्न सक्दैनन् ।
“गत साउन २५ गतेदेखि विद्यालय खुल्नुपर्ने हो, तर पुल नभएकाले विद्यालय पुग्न सक्दैनौँ,” प्रधानाध्यापक थपलिया बताउनुहुन्छ, “नदीमा पानी घटेपछि मात्र पढाइ सुरु हुन्छ ।”
वैकल्पिक रूपमा भारत हुँदै विद्यालय पुग्ने बाटो पनि छ । तर उत्तरतिर काँकडभिट्टा वा दक्षिणतिर भद्रपुरको मेची पुल तरेर पुग्दा ३०–४० किलोमिटर दूरी तय गर्नुपर्ने हुन्छ । यसमा पश्चिम बंगाल र बिहारको बाटो प्रयोग गर्नुपर्छ, जसलाई व्यवहारिक विकल्प मान्न सकिँदैन ।
२०५७ सालदेखि निरन्तर समस्या
विसं २०५७ मा स्थापना भएको यस विद्यालयमा हरेक वर्ष बर्खायाम पठनपाठन बन्द हुने परम्परा बनेको छ । स्थानीय तीन गाउँ– ग्वाल बस्ती, शिशौ डाँगी र झाडु बस्तीमा करिब ५० परिवार बसोबास गर्छन् । अधिकांश राजवंशी, यादव र सन्थाल समुदायका मानिस खेतीपाती र पशुपालनमै निर्भर छन् ।
शिक्षा प्रोत्साहनमा चेतनाको कमी र पुलको अभाव दुवै कारणले गाउँका बालबालिका प्रभावित छन् । कक्षा २ पछि पढ्नुपर्ने विद्यार्थीहरू भारततिर जान बाध्य छन्, थोरै मात्र मेची नदी तरेर नेपालतिरका विद्यालयमा पढ्न पुग्छन् ।
पाँच कट्ठा जग्गामा बनेको पुरानो भवनमै विद्यालय सञ्चालन हुँदै आएको छ । पिउने पानीका लागि ट्युबेल भए पनि विद्यालयमा बिजुली छैन । विद्यालयको छतमा फहराइएको राष्ट्रिय झण्डाले मात्र ‘नेपालसँगको पहिचान’ देखाउँछ ।
दुई दशकदेखि आश्वासनमै
स्थानीयले विद्यालय स्थापनाभन्दा पहिले नै पुलको माग गर्दै आएका थिए । तर अहिलेसम्म राजनीतिक परिवर्तन भए पनि मेची पारिको नेपाललाई सिंगो नेपालसँग जोड्ने पुल बन्न सकेको छैन ।
सरकारले पटक–पटक झोलुङ्गे पुलको आश्वासन दिएको छ । बल्ल चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा डिपीआर तयार गर्न ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेचीनगर–१५ का वडासदस्य वृक्षलाल राजवंशी भन्छन्, “हामीले पुलका लागि लगातार आवाज उठाइरहेका छौँ, तर अझैसम्म झोलुङ्गे पुल पनि बनेको छैन ।”
पुल नहुँदा ‘मेची पारिको विद्यालय’मा प्रत्येक वर्ष पढाइ ठप्प हुने अवस्था छ । यहाँका बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन् । दशकौँदेखि उठ्दै आएको माग अझै पूरा हुन सकेको छैन ।