“नवीन सन्देश”को गौरवपूर्ण १९ वर्ष: जिम्मेवार पत्रकारिताको सन्देश

काठमाडौं । नवीन सन्देश मासिक ले सफलतापूर्वक १९ वर्ष पूरा गर्दै २०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विशेष कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पत्रिकाको योगदानको उच्च प्रशंसा गरेका छन्। कार्यक्रम पत्रकारिताको जिम्मेवारी, विश्वसनीयता र बदलिँदो मिडिया परिवेशबारे गम्भीर विमर्शको थलोसमेत बनेको थियो।

पूर्व सभासद् कान्तिका सेजुवाल ले २० वर्षसम्म निरन्तर पत्रिका सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै समर्पण, मेहनत र दृढताले “सुन्दर गोरेटो” कोर्न सफल भएको बताइन्।

त्यसैगरी, मौरिससका महावाणिज्यदूत तथा इपानका अध्यक्ष गणेश कार्की ले पत्रकारिताको मूल मर्म जोगाउनुपर्नेमा जोड दिँदै आकर्षक हेडलाइनभन्दा तथ्यपरक सामग्री महत्वपूर्ण हुने धारणा राखे।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा ले पत्रिकाको १९ वर्षे यात्रालाई प्रशंसनीय बताउँदै उद्यमशीलता प्रवर्द्धनमा मिडियाको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे।

गण्डकी प्रदेशकी प्रेस रजिस्टार बिमला भण्डारी ले सूचना र समाचारको अत्यधिक बहावले आम नागरिक प्रभावित भइरहेको बताउँदै न्यू मिडियासँग प्रतिस्पर्धा गर्न छापा माध्यमले रूपान्तरण आवश्यक रहेको धारणा राखिन्।

प्रेस काउन्सिल नेपालकी बोर्ड सदस्य निमा काफ्ले ले पत्रकारितामा विश्वसनीयता, आचारसंहिता र तथ्यपरकता नै सबैभन्दा महत्वपूर्ण आधार भएको बताइन्।

वरिष्ठ पत्रकार हरि विनोद अधिकारी ले सुरुवातदेखि नै आफू जोडिएको स्मरण गर्दै पत्रिकाको निरन्तर प्रकाशनलाई ऐतिहासिक उपलब्धि बताए।

इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराई ले पत्रिकाको यात्रालाई “रिमार्केबल” भन्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

सञ्चारिका समूह नेपालकी निवर्तमान अध्यक्ष बिमला तुम्खेवा तथा नेपाल प्रेस युनियनकी उपाध्यक्ष सलाेजा दाहाल ले महिला नेतृत्व, धैर्यता र निरन्तरताले सफलता सम्भव हुनेमा जोड दिए।

त्यसैगरी, सञ्चारिका समूह नेपालकी महासचिव राधा खनाल ले छापा माध्यम चुनौतीबीच पनि निरन्तर प्रकाशन हुनु आफैंमा सशक्त सन्देश भएको बताइन्।

शिक्षा अभियन्ता रामप्रसाद दाहाल ले दीर्घकालीन निरन्तरता र सत्यप्रतिको प्रतिबद्धताले मात्र मिडियालाई बलियो बनाउने धारणा राखे भने रेडियो सगरमाथाकी स्टेशन म्यानेजर उर्वशी बस्न्यात ले पत्रिकाको सफलताको कामना व्यक्त गरिन्।

विभिन्न आरोह–अवरोह पार गर्दै नवीन सन्देश मासिक ले १९ वर्षसम्म कायम राखेको निरन्तरता, समर्पण र व्यावसायिकता नेपाली पत्रकारिताका लागि उदाहरणीय बनेको सहभागीहरूले बताएका छन्। अब २०औँ वर्षमा प्रवेशसँगै अझ सशक्त, विश्वसनीय र जनउत्तरदायी पत्रकारिताको अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2