प्रहरीको आत्मबल उच्च बनाऔँ, समाजको सुरक्षामा नयाँ विश्वास जगाऔँ

देशको शान्ति, सुरक्षाको पहिलो रेखा प्रहरी हो ,नेपाल प्रहरी नेपाली जनताको साथी र सहारा हो, शत्रु होइन। देशले भोगेका ठूला राजनीतिक आन्दोलनदेखि प्राकृतिक विपत्ति, महामारी, दुर्घटना र जटिल अपराध अनुसन्धानसम्म प्रहरी सधैं अग्रपंक्तिमा खटिएको छ। चोरी–डकैतीजस्ता आपराधिक गतिविधिबाट जनताको जिउधन जोगाउने जिम्मेवारी पनि प्रहरीकै काँधमा छ। तर यति महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थामाथि पटक–पटक शारीरिक र मानसिक आक्रमण हुनु दुःखद वास्तविकता हो।

हालैको जेनजी आन्दोलन यसको स्पष्ट उदाहरण बनेको छ। शान्तिसुरक्षा कायम गर्ने क्रममा प्रहरीलाई लक्षित गर्दै भएको संगठित आक्रमणले प्रहरीको मनोबलमा गहिरो घाउ पुर्‍यायो। प्रदर्शन नियन्त्रणको क्रममा हिंसात्मक समूहले प्रहरीमाथि आक्रमण मात्र गरेन, हत्या, हतियार लुटपाट, पोसाक अपहरण, प्रहरी चौकी र कार्यालयमा आगजनीजस्ता अपराधसम्म गरे। यसको परिणाम देशभरका प्रहरी युनिटमा ठूलो क्षति भएको देखिन्छ। केवल काठमाडौँ उपत्यकामा मात्र २१८ प्रहरी युनिट क्षतिग्रस्त वा विस्थापित भए। तीमध्ये १२२ पूर्ण रूपमा र ९६ आंशिक रूपमा क्षतिग्रस्त थिए। यस्तै, ११७ वटा चारपाङ्ग्रे र १५८ वटा दुईपाङ्ग्रे सवारी साधन जलेर ध्वस्त भए, १२१ भन्दा बढी सवारीमा तोडफोड भयो।

तर अन्धकारको बीचमा पनि उज्यालो छ। स्थानीय बासिन्दा, स्वयंसेवक र प्रहरीकै अथक प्रयासले तीमध्ये अधिकांश युनिट पुनः सञ्चालनमा आएका छन्। यस सहकार्यले समाजमा प्रहरीप्रतिको विश्वास अझै जिउँदो छ भन्ने प्रमाणित गरेको छ।

नेपाल प्रहरीको गौरवमय इतिहास पनि स्मरणीय छ। सन् १९१४ मा चन्द्रशमशेरले वीरगन्जमा पहिलो पटक शान्तिसुरक्षाको जिम्मा प्रहरीलाई दिँदै पुलिस सवाल जारी गरेका थिए। त्यसपछि उपत्यकादेखि तराईसम्म प्रहरी संरचना विस्तार हुँदै २००७ सालको क्रान्तिपछि प्रहरी प्रधान कार्यालय स्थापनासम्मको यात्रा चुनौतीपूर्ण रह्यो। २०१२ सालमा नेपाल पुलिस फोर्सले वैधानिक मान्यता प्राप्त गर्दै देशको शान्तिसुरक्षाको आधारस्तम्भको रूपमा आफ्नो स्थान सुनिश्चित गर्‍यो।

अबको मुख्य प्रश्न हो, यति लामो इतिहास र बलिदानीको धरोहर बोकेको संस्थाको आत्मबल कमजोर पार्ने अवस्था किन र कसरी सिर्जना भयो? क्षणिक राजनीतिक लाभका लागि प्रहरीमाथि आक्रमण गर्नु समाजकै दीर्घकालीन सुरक्षामाथिको प्रहार हो। प्रहरी बिना शान्तिसुरक्षा सम्भव छैन, यो तथ्य सबैले गहिरो गरी आत्मसात् गर्नुपर्छ।

त्यसैले, तत्कालीन प्राथमिकता प्रहरीको मनोबल पुनर्स्थापना हो। सरकार, राजनीतिक दल, नागरिक समाज, व्यवसायी, स्थानीय समुदाय सबैले हातेमालो गर्नुपर्छ। केवल क्षतिग्रस्त संरचना मर्मतले मात्र पुग्दैन; संस्थागत सम्मान, मनोवैज्ञानिक सहारा, पर्याप्त स्रोतसाधन र पारदर्शी नेतृत्वले मात्र प्रहरीको आत्मबललाई पुनर्जीवित गर्न सकिन्छ।

समाज शान्त छ भने मात्र विकास सम्भव हुन्छ। र शान्तिको पहिलो पहरेदार प्रहरी नै हो। त्यसैले आजको साझा जिम्मेवारी हो प्रहरीको आत्मबल उच्च बनाऔँ, समाजको सुरक्षामा नयाँ विश्वास जगाऔँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *