मुस्ताङका किसान दसैंसँगै व्यस्त: रैथाने फापर थन्क्याउने दौडधूप

मुस्ताङ । दसैंको उत्सव सकिँदै गर्दा मुस्ताङका किसान अहिले खेतबारीमै व्यस्त छन् , परम्परागत रैथाने बाली फापर भित्र्याउने काममा उनिहरु व्यस्त भएका हुन्। घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसान अहिले फापर सुकाउने, चुट्ने र केस्रा निकाल्ने काममा जुटेका छन्।

फापर यहाँको सांस्कृतिक, धार्मिक र खाद्य पहिचान बनेको बाली हो। स्थानीयहरूले यसलाई घरायसी उपभोग, अनुष्ठान, व्यवसायिक प्रयोजन र विदेशमा रहेका आफन्तलाई कोसेलीका रूपमा प्रयोग गर्छन्।

घरपझोङ–५ की किसान प्रमिला गुरुङ थकालीका अनुसार फापर छरेको करिब १०० दिनमा पाक्न तयार हुन्छ। “फापर काटेपछि तीन दिन खेतमै सुकाएर लौरीले चुट्ने चलन छ,” उनले बताइन्। काटिएको फापरको डाँठ सुकाएर पशुचौपायालाई खुवाइन्छ।

जिल्लामा मिठे फापर र तिते फापर दुबै खेती हुने गरे पनि मिठे फापर बढी लोकप्रिय छ। पछिल्लो समय केही किसानले प्रविधि प्रयोग गरेर फापरको केस्रा संकलन गर्न थालेका छन्।

फापर खेती समुद्री सतहदेखि करिब १,९८४ मिटरदेखि ३,९०० मिटर उचाइसम्मको जमिनमा गरिन्छ। चिसो हावापानीमा उब्जिएको फापर स्वादिलो र पोषिलो मानिन्छ।

तल्लो मुस्ताङमा असार–साउनमा छरेको फापर असोजमा भित्र्याइन्छ भने उपल्लो क्षेत्रका किसानले वैशाखमा रोपेका बाली कात्तिकमा भित्र्याउँछन्।

तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका असर देखिन थालेका छन्। किसान पाल्साङ गुरुङका अनुसार यस वर्ष फापरमा खुम्ले कीरा को प्रकोप देखिएको छ भने गतवर्ष तुषारोले नोक्सान पुर्‍याएको थियो।

स्थानीयहरूले फापरलाई स्याउ बगैँचामा अन्तरबालीको रूपमा पनि लगाउने गरेका छन्, जसबाट दोहोरो आम्दानी हुन्छ।

फापरको ढिडो र रोटी सहर बजारका भान्साघरमा लोकप्रिय परिकार मानिन्छ। हाल स्थानीय बजारमा फापरको पिठो प्रतिकिलो रु. १,२०० मा बिक्री भइरहेको किसानहरूले बताए।

कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार स्थानीय सरकारले फापरलगायत रैथाने बाली संरक्षणका लागि विविध तालिम र अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। “फापर मुस्ताङकै पहिचान हो, त्यसैले यसको संरक्षण हाम्रो प्राथमिकता हो,” उनले भने।

पोषणविद्हरूका अनुसार फापरमा २४ भन्दा बढी पोषक तत्व पाइन्छ — जसले रक्तचाप, कोलेस्ट्रोल र मोटोपन घटाउँछ। यसमा प्रोटिन, फाइबर, भिटामिन र मिनरल प्रशस्त हुने भएकाले यसलाई स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *