ट्रमा सेन्टरको आईसीयू सेवा विस्तार गर्न सांसद घनश्याम रिजालको माग

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो।

उहाँले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसीयू सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताउनुभयो।

‘ट्रमा अस्पतालको प्रोटोकलअनुसार अस्पतालको बेड क्षमताको ३० प्रतिशत आईसीयू सेवा उपलब्ध हुनुपर्छ। नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा दुई सय बेडको क्षमता भए पनि जम्मा १० बेडमात्र आईसीयू सेवा रहेको छ। यो अस्पतालमा अति आवश्यक पर्ने एमआरआई सेवा समेत नरहेको अवस्था छ,’ उहाँले भन्नुभयो।

उहाँले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसीयू सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गर्नुभयो।

चिकित्सककाअनुसार ट्रमा बिरामीलाई चार घण्टाभित्र उपचार सेवा दिनुपर्ने हुन्छ। उहाँले भन्नुभयो,‘तर त्यहाँ आईसीयू सेवा नहुँदा बिरामीलाई अन्यत्र निजी अस्पतालमा लैजानुपर्ने बाध्यता छ । कतिपय अवस्थामा बिरामीको मृत्यु समेत हुने गरेको छ।’

उहाँले अगाडि भन्नुभयो, ‘अस्पताल प्रशासनका अनुसार राष्ट्रिय ट्रमा अस्पतालमा अहिले भएको जनशक्तिले नै प्रोटोकलअनुसारको थप ५० आईसीयू दिनसक्ने भएकाले त्यहाँ तत्काल आईसीयू सेवा विस्तार गर्न र एमआरआई सेवासमेत तत्काल व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

सांसद रिजालले ट्रमा बिरामीहरुले आईसीयूको अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *