काठमाडौं । बाघ र हात्तीको आक्रमणबाट निरन्तर मानवीय क्षति हुँदै आएको बर्दियाका बन्यजन्तु पीडित नागरिकहरूले राजधानी काठमाडौंको रत्नपार्कमा प्रदर्शन तथा कोणसभा गरेका छन्।
बन्यजन्तु पीडित नागरिक समाज बर्दियाको आयोजनामा आज भएको प्रदर्शनमा लामो समयदेखि बाघ र हात्तीको आक्रमणका कारण हरेक हप्ता जसो नागरिकले ज्यान गुमाइरहेको तर सरकार आम मानिसको सुरक्षाप्रति गम्भीर नबनेको भन्दै तीव्र विरोध जनाइएको थियो।
प्रदर्शनमा सहभागी वक्ताहरूले बन्यजन्तु संरक्षणका नाममा राज्यले मानव जीवनलाई उपेक्षा गरेको आरोप लगाउँदै नागरिकको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए।
उनीहरूले प्रभावित क्षेत्रका नागरिक त्रास र भयबीच जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै स्थायी समाधान, प्रभावकारी सुरक्षा व्यवस्था र पीडित परिवारलाई न्यायोचित राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका थिए।
कार्यक्रममा नेकपा (संयुक्त) की नवयुवा केन्द्रीय सदस्य तथा बन्यजन्तु प्रभावित क्षेत्र निवासी निता शर्माले सरकारको उदासीनताप्रति कडा आपत्ति जनाउँदै अबिलम्ब समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी दिइन्।
उनले बर्दियामा बाघ र हात्तीको आक्रमणले मानवीय जीवन सस्तो बनेको भन्दै हरेक हप्ता नागरिकको ज्यान जाँदा पनि सरकार मौन बस्नु गम्भीर विषय भएको बताइन्।
शर्माले बन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम नगरेसम्म समस्या समाधान नहुने स्पष्ट पार्दै राज्यले पीडित नागरिकको पीडा नसुने जनस्तरबाट आन्दोलन थप चर्किने संकेत दिइन्।
