काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका अध्यक्ष संजिव राईसहित काठमाडौंमा उपलब्ध पदाधिकारी र अगुवा नेताहरूको महत्त्वपूर्ण बैठक लाजिम्पाटस्थित एक होटलमा सम्पन्न भएको छ । बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पार्टी पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्व अध्यक्ष नरेश शाहीको विशेष उपस्थिति थियो ।

बैठकमा पार्टी तथा युवा संघसँग सम्बन्धित समसामयिक विषयमा गहन छलफल गरिएको सहभागीहरूले बताएका छन् । साथै, वैधानिक रूपमा पुनर्गठन गरिएको युवा संघलाई देशव्यापी रूपमा संगठन विस्तार गर्नेगरी अभियान चलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले अध्यक्ष राईविरुद्ध गरिएको भनिएको कारबाहीको कुनै वैधानिकता नरहेको समेत निष्कर्ष निकालेको छ ।

यस अवसरमा सम्मानित नेता खनालले युवाहरूप्रति विशेष आह्वान गर्दै विचार, नैतिकता र क्षमताका आधारमा पार्टी र देशलाई नयाँ दिशातर्फ अघि बढाउने जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो । उहाँले संघर्षको अगुवा भएर युवाले अन्याय, असमानता र शोषणविरुद्ध दृढतापूर्वक उभिनुपर्ने उल्लेख गर्दै त्यस यात्रामा आफू सधैं साथ रहने विश्वास दिलाउनुभयो ।