नेपालमै पहिलो म्याक्सिलोफेसियल अस्पताल बन्दै : मुख र अनुहारका जटिल शल्यक्रियामा नयाँ युगको सुरुआत

काठमाडौं । नेपालमा पहिलो पटक मुख, दाँत, बङ्गारा तथा अनुहारसम्बन्धी सबै जटिल शल्यक्रियाका लागि समर्पित मौखिक तथा म्याक्सिलोफेसियल अस्पताल निर्माण हुने भएको छ। दन्त स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय ॐ समाज डेण्टल अस्पतालले काठमाडौंको चाबहिल (चिसाबेल) क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।

यो अस्पताल सञ्चालनमा आएपछि विशेष उपचारको अभावमा भारत, थाइल्याण्डलगायत तेस्रो मुलुक जान बाध्य हुँदै आएका हजारौं नेपाली बिरामीका लागि स्वदेशमै उपचारको भरोसायोग्य केन्द्र बन्ने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार यो पहलले नेपालको दन्त तथा अनुहार शल्यचिकित्सा सेवामा ऐतिहासिक फड्को मार्नेछ।

नेपालमा मौखिक तथा म्याक्सिलोफेसियल सेवाको सुरुआत त्रिवि शिक्षण अस्पतालबाट भए पनि यस क्षेत्रका लागि पूर्णरूपमा समर्पित, विशेषज्ञस्तरीय र आधुनिक अस्पताल अहिलेसम्म निर्माण हुन सकेको थिएन। यही अभावलाई मध्यनजर गर्दै ॐ समाज डेण्टल अस्पतालले देशमै पहिलो पटक यस्तो विशिष्ट अस्पताल स्थापना गर्न लागेको हो।

अस्पतालका वरिष्ठ मुख तथा अनुहार शल्यचिकित्सक डा. सुवास घिमिरेका अनुसार नेपालमा ट्राफिक तथा औद्योगिक दुर्घटनाबाट हुने अनुहारका गम्भीर चोटपटक, बङ्गारा भाँचिने समस्या, मुख तथा अनुहारको क्यान्सर, भित्री मुखका ट्युमर, गहिरो संक्रमण र जन्मजात दोषका घटनाहरू बढ्दो क्रममा छन्। “यी समस्या सामान्य दन्त चिकित्सक वा साधारण शल्यचिकित्सकबाट उपचार सम्भव हुँदैन,” डा. घिमिरे भन्छन्, “यसका लागि विशेष तालिम प्राप्त म्याक्सिलोफेसियल विशेषज्ञ, अत्याधुनिक उपकरण र पूर्ण उपचार संरचना अनिवार्य हुन्छ।”

हाल यस्ता जटिल उपचारका लागि धेरै नेपाली बिरामी विदेश जान बाध्य भएको उल्लेख गर्दै उनले यसले आर्थिक भार मात्र होइन, समयको क्षति र मानसिक तनावसमेत बढाएको बताए। “अब नेपाली बिरामीले उपचारका लागि विदेश धाउनुपर्ने अवस्था अन्त्य गर्ने हाम्रो लक्ष्य हो,” डा. घिमिरेले भने, “नेपालमै सुरक्षित, किफायती र अन्तर्राष्ट्रिय स्तरको म्याक्सिलोफेसियल सेवा उपलब्ध गराउनेछौँ।”

मौखिक तथा म्याक्सिलोफेसियल शल्यक्रिया दन्त विज्ञान र शल्यचिकित्साको सबैभन्दा जटिल तथा उन्नत शाखा मानिन्छ। यसअन्तर्गत अनुहारको हड्डी भाँचिने समस्या, गम्भीर संक्रमण, मुख तथा अनुहारको क्यान्सर र ट्युमर, हड्डी तथा तन्तुको पुनर्निर्माण, अनुहारको असन्तुलन सुधार्ने अर्थोग्न्याथिक शल्यक्रिया, जटिल दन्त प्रत्यारोपणदेखि पूर्ण अनुहार पुनर्निर्माणसम्मका उपचार समेटिन्छन्। समयमै सही उपचार नपाएमा यस्ता समस्या ज्यानकै लागि जोखिमपूर्ण हुन सक्ने चिकित्सकहरू बताउँछन्।

चाबहिल क्षेत्रमा निर्माण हुने उक्त अस्पतालमा अत्याधुनिक अपरेशन थिएटर, थ्रीडी डिजिटल इमेजिङ र स्क्यानिङ प्रणाली, इन–हाउस प्रयोगशाला, आईसीयू तथा आपतकालीन सेवा, एनेस्थेसिया विभाग, फेसियल ट्रमा युनिट र पोस्ट–अपरेटिभ रिकभरी वार्ड रहनेछन्। अस्पतालले एकै छानामुनि सम्पूर्ण म्याक्सिलोफेसियल उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

सामाजिक सेवामा निरन्तर सक्रिय ॐ समाज डेण्टल अस्पतालले विगत केही वर्षदेखि चाबहिल, नाकाप, बंशाली, सातदोबाटो र बर्दिबासलगायत क्षेत्रमा किफायती, भरपर्दो र पहुँचयोग्य दन्त सेवा प्रदान गर्दै आएको छ। निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम र कम लागतमा गुणस्तरीय उपचारमार्फत संस्थाले समाजमा विश्वास कायम गरेको छ।

नयाँ अस्पताल सञ्चालनमा आएपछि यो नेपालमा स्थापना हुने पहिलो समर्पित मौखिक तथा म्याक्सिलोफेसियल अस्पताल हुनेछ। यसले हजारौं नेपालीलाई स्वदेशमै विश्वस्तरीय उपचारको अवसर प्रदान गर्दै उपचारका लागि विदेश पलायन हुनुपर्ने बाध्यतालाई उल्लेखनीय रूपमा घटाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *