काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन)ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।
बुधबार संयुक्त पत्रकार सम्मेलनमार्फत यी दुई संगठनले भदौ ८ गतेसम्म माग सम्बोधन नभए ९ गतेदेखि निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्।
आन्दोलनको क्रममा भोलि (भदौ ५ गते, बिहीबार) बिहान ११ बजे माइतीघर मण्डलामा प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने कार्यक्रम छ। त्यस्तै, भदौ ६ गते देशभरका स्कुलबसहरू विद्यालय नजिकैका चोकमा उतारेर नगर परिक्रमा गराइने संगठनहरूले जनाएका छन्।
उनीहरूले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति उपलब्ध गराउने, विद्यालयमै उत्पादन नहुने सामग्री उपलब्ध गराउने, विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने जस्ता प्रावधान खारेज गर्नुपर्ने माग अघि सारेका छन्।