काठमाडौं। नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले सार्वजनिक सेवा प्रवाहमा होटलको जस्तो सत्कारमा जोड दिएको छ ।
संगठनको पौष १९ र २० गते बसेको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको सम्बन्धमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । संगठनले सार्वजनिक प्रशासनमा महिलाको पहुँच बढाउन आगामी वैशाखमा राष्ट्रिय महिला भेला गर्ने निर्णय गरेको छ । संगठनले प्रकाशित गरेको विज्ञप्तीमा ‘सार्वजनिक सेवा प्रवाह सम्बन्धमा’ को ‘घ’ नम्बर बुँदामा लेखिएको छ ‘ होटलको जस्तो सत्कार र बैंकको जस्तो सेवा प्रदानमा जोड दिने ।’
पत्रकारले यसबारे सोधेको प्रश्नमा संगठनकी अध्यक्ष भवानी दाहाल न्यौपानेले यसलाई यसरी व्याख्या गरिन् ‘यो भनेको जसरी होटलले परैबाट सेवाग्राहीलाई नमस्ते गरेर ल्याउँछ र राख्छ, हामीले पनि सेवाग्राहीलाई त्यसै गरेर सेवा दिने हो ।’ उनले सेवाग्राहीलाई खुशी पारेर पैसा लिने वा अरु कुनै आशा गर्ने भनेको होइन भनेर स्पष्ट पारिन् ।

संगठनले सरकारले सरुवा आतंक मच्चाएको भन्दै असन्तुष्टि जनाएको छ । संगठनले पटकपटक बिनाकारण सरुवा गर्दा कर्मचारीमा मानसिक रुपमा दवाव सिर्जना भएको जनाएको छ ।
सार्वजनिक प्रशासनमा महिलाहरुको पहुँच बढाउन, कार्यस्थलमा हुने भेदभावको अन्त्य, नेतृत्व विकास, समस्या, भावी लक्ष्यसहितको विविध पक्षहरुम छलफल गर्न आगामी वैशाखमा राष्ट्रिय महिला भेलाको आयोजना गर्ने संगठनले जनाएको छ । संगठनले संगठनको आन्तरिक जीवनलाई क्रियाशील र प्रभावकारी बनाउँदै नवप्रवेशी कर्मचारीहरुलाई संगठनप्रति आकर्षण बढाउन आगामी फाल्गुणमा ‘युवा तथा अध्यक्ष’ हरुको भेला पनि गर्ने निर्णय गरेको छ । संगठनले पहिलोपटक युवा विभाग गठन गरेको संगठनकी अध्यक्ष भवानी दाहाल न्यौपानेले बताइन् ।
संगठनले आफूहरु जनताको काममा निरन्तर लाग्दै आएको भए पनि सरकारले आफ्नो कामको मूल्यांकन नगरेको पनि गुनासो गरेको छ । संगठनले समसामयिक राजनीति गतिविधिका साथै संगठनका भावी योजना पनि सार्वजनिक गरेको छ । संगठनका सचिव तथा प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख तेजप्रकाश (टिपी) भण्डारीले संचालन गरेको कार्यक्रममा अध्यक्ष भवानी दाहाल न्यौपानेले पत्रकारका प्रश्नको जवाफ दिएकी थिइन् ।
भण्डारीले संगठनले पछिल्लो समयमा गति लिँदै गरेको बताए । ‘हामी आफ्नो जिम्मेवारी वहन गर्दै संगठनको काममा पनि लागेका छौं, कर्मचारीले राजनीतिमात्रै गर्छन् भन्ने आरोप तोड्न संगठनले धेरै सामाजिक काम गरिरहेको प्रमाण पनि पेश गर्न सक्छौं’ सचिव भण्डारीले भने, ‘सरकारले दिएको अधिकार प्रयोग गरेर संगठन गर्ने हो, सरकारको काममा कुनै अवरोध गरेको भए वा त्यस्तै अरु क्षति पुग्ने काम हामीबाट भएको भएमात्रै प्रश्न उठाउन मिल्छ नभए अनुमानका भरमा कसैलाई पनि कुनै आरोप लगाउनु हुँदैन ।’ सरुवा आतंक मच्चाएको भन्दै असन्तुष्टि जनाएको छ । संगठनले पटकपटक बिनाकारण सरुवा गर्दा कर्मचारीमा मानसिक रुपमा दवाव सिर्जना भएको जनाएको छ ।
बैठकमा संगठनका महासचिव रामचन्द्र अधिकारीले सांगठनिक र कोषाध्यक्ष यामकुमारी सापकोटाले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । बैठकमा नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाले सार्वजनिक प्रशासनमा सेवा प्रवाह, पारदर्शिता, जवाफदेहीता र प्रभावकारिताको सम्बन्धमा प्रशिक्षण दिएका थिए । संगठनले सदस्यता बिस्तार गर्ने विशेष अभियान पनि संचालन गरिरहेको छ । संगठनले सरकारसमक्ष विभिन्न माग राखेको छ ।

राष्ट्रियस्तरका ट्रेड युनियनले दिएका साझा सुझावसहित स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी संघीय निजामती सेवा ऐन जारी जारी गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती सेवाको परिभाषामा समेटी प्रदेश तथा स्थानीय तहका ऐन तथा कानुनहरुको एकरुपता कायम गर्नुपर्ने,.कुनै पनि पदमा लगातार पाँच वर्ष सेवा गरेको कर्मचारीलाई एक तह र १० वर्ष सेवा गरेको कर्मचारीलाई एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्ने, अन्तरतह, अन्तरप्रदेश, अन्तर स्थानीय तह सरुवाको व्यवस्थासहित वैज्ञानिक, चक्रीय र पूर्वानुमान योग्य सरुवा व्यवस्था गर्नुपर्नेलगायतका माग संगठनले राखेको छ ।
संगठनले सरकारका हरेक गतिविधिमा आफ्नो सक्रिय सहभागिता रहने र सरकारलाई सहयोग गर्ने जनाएको छ । आगामी निर्वाचन सफल बनाउन संगठन लाग्ने भन्दै अध्यक्ष न्यौपानेले निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा सरकारले गर्नुपर्ने बताइन् । न्यौपानेको नेतृत्वमा यो कार्यसमिति आएको झण्डै ११ महिना भएको छ । अध्यक्ष न्यौपानेले अहिलेसम्म संगठनले गरेको कामको बारेमा पनि व्याख्या गरेकी थिइन् । संगठनले सार्वजनिक सेवा प्रवाहमा पनि जोड दिएको छ । उसले ‘मुस्कानसहितको सेवा’ आफ्नो प्रमुख उद्येश्य भएको बताएको छ ।
