काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्र नभई लोकहित, मानव कल्याण र सामाजिक न्यायको मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको बताएकी छिन् ।
शनिबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरिन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणासहित पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरिरहेको बताइन् । ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दर्शन हो,’ उनले भनिन्, ‘हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र ‘सर्वं भवन्तु सुखिनः, सर्वं सन्तु निरामया’ ले सबै सुखी र स्वस्थ रहुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भन्ने भावना बोकेको छ । जबजको मूल मर्म पनि यही हो ।’
उनले वर्गीय शोषण अन्त्य गरी सबै नागरिकका लागि स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता आजको प्रमुख आवश्यकता भएको उल्लेख गरिन् । ‘जबजले राष्ट्रलाई समृद्ध र नागरिकलाई सुखी बनाउने महान् लक्ष्य अघि सारेको छ,’ भण्डारीले थपिन्, ‘नेकपा एमालेले यो सिद्धान्तलाई अंगीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको साझा आकांक्षा पूरा गर्न दृढतापूर्वक लागिरहेको छ ।’