काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार नख्खु कारागार पुगेका छन् । उनले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर स्वास्थ्य अवस्था बुझ्ने क्रममा लामिछाने दुब्लिएको र अनुहार कमजोर देखिएको बताए ।
प्रचण्डका अनुसार, लामिछानेले भैरहवाको बसाइँ अत्यन्त कठिन भएको तर नख्खुमा खानपिन र व्यवस्था राम्रो रहेको बताएका छन् । ‘भैरहवा हुँदा भेट्न पाएको थिइनँ, त्यहाँ बसाइँ निकै पीडादायी रहेछ । यहाँ भने खानपिन र व्यवस्था राम्रो भएको भन्नुभयो,’ प्रचण्डले सञ्चारकर्मीसँग बताए ।
उनले लामिछानेले गठबन्धन आफूप्रति अनुदार भएको गुनासो गरेको जानकारी पनि दिए । ‘उहाँमाथि भएको विभेद कम होस् भन्ने कुरा मैले पनि जोड दिएको छु । तर राजनीतिक रूपमा कांग्रेस–एमालेले गरेको व्यवहारले उल्टै उहाँ र उहाँको पार्टीलाई फाइदा पुगेको रहेछ,’ प्रचण्डले भने ।
लामिछानेले पनि आफूलाई सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आगामी चुनावमा बल पुग्नेगरी फाइदा हुने निष्कर्ष प्रचण्डलाई सुनाएको प्रचण्डले बताए ।
‘राजनीतिक रुपमा अहिले कांग्रेस–एमालेले जसरी व्यवहार गरेका छन्, त्यसले रास्वपालाई देशभरि फाइदा पुगेको छ भन्ने उहाँको बुझाइ रहेछ,’ प्रचण्डले भने, ‘कांग्रेस–एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान् ?’
लामिछानेले भेटका क्रममा नख्खु कारागारको व्यवस्थाबारे भने प्रशंसा गरेका छन् ।