काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिलाई विश्वस्तरमा प्रवर्द्धन गर्न र दिगो विकास लक्ष्य हासिल गर्न गति प्रदान गर्न महत्त्वपूर्ण योगदान दिएको बताए ।
यसअघि असार १४ गतेको प्रतिनिधिसभा बैठकमा उनले सम्मेलन र भ्रमणको कार्यसूचीबारे जानकारी गराएका थिए । सम्मेलनका लागि प्रधानमन्त्री ओली असार १४ गते स्पेन प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए । सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकहरूको तर्फबाट नेतृत्व गर्दै यी मुलुकहरूको न्यायपूर्ण आर्थिक र सामाजिक विकासका लागि वकालत गरे ।
उनले सेभिया प्रतिबद्धताको कार्यान्वयनले यी मुलुकहरूलाई स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । साथै, उनले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराए ।
प्रधानमन्त्री ओलीले भ्रमणले संयुक्त राष्ट्रसङ्घ र वैदेशिक सम्बन्ध सुदृढ भएको तथा अतिकम विकसित मुलुकहरूको विकासका लागि प्रभावकारी पैरवी भएको बताए । उनले भने, ‘विकास वित्त, औपचारिक र अनौपचारिक सहयोग, र जलवायु वित्तमा सहयोगको आव्हान गरिएको छ । नेपालले विकास साझेदारीका प्राथमिकताहरू उजागर गर्न प्रयास गरेको छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा जिम्मेवार र सक्षम मुलुकका रूपमा स्थापित गरेको छ । साथै, आर्थिक कूटनीति र वैदेशिक लगानी वृद्धिको अपेक्षा गरिएको छ ।’
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकहरूको समूहको बैठकको अध्यक्षता गर्दै सम्बोधन गरेका थिए । उनले विभिन्न साइडलाइन वार्ता र गोलमेच सम्मेलनमा नेपालको नेतृत्व, वकालत, र प्रतिबद्धताबारे जानकारी गराए । ४४ अतिकम विकसित मुलुकहरूको प्रतिनिधित्व गर्दै नेपालले प्रभावकारी नेतृत्व प्रदर्शन गरेको उनले स्पष्ट पारे ।
सम्मेलनअघि प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गर्दै सशक्त र खबरदारीपूर्ण भूमिकाका लागि आव्हान गरेका थिए । उनले नेपालले नागरिक समाजका लागि लोकतान्त्रिक र उदार व्यवस्था अवलम्बन गरेको बताए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।