काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सोमबार आफ्नो पार्टीको चौथो पुनर्गठन दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा भाषण गर्दै अन्य राजनीतिक दलहरूमा निराशा र निष्क्रियता व्याप्त भएको बताएका छन्।
अध्यक्ष नेपालले आफ्नो पार्टीको अवस्था अन्य दलसँग तुलना गर्दै भने, “अरु पार्टी हेर्नुस्, कति निराशा छ! निराशै निराशा व्याप्त छ। गतिशीलता हराएर निष्क्रिय भएर बसेका छन्। तर हामीलाई आत्तिनुपर्ने कुनै आवश्यकता छैन।”
उनले अन्य दलहरूमा सिद्धान्त र विचारको अभाव रहेको आरोप लगाउँदै पनि सकारात्मक पक्ष सिक्नुपर्नेमा जोड दिए। “उनीहरूले जनतामा प्रभाव पार्दा, अभियान चलाउँदा, घरघरमा पुग्दा गरेका राम्रा कुरा हामीले सिक्नुपर्छ,” उनले भने।
अध्यक्ष नेपालले पार्टी निर्माणको उद्देश्य स्पष्ट गर्दै भने, “नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारामा अगाडि बढाउन, रक्षा गर्न र नयाँ उचाइमा पुर्याउन हामीले यो पार्टी स्थापना गरेका हौँ। राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ।”
उनीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नाका सम्बन्धी विवादमा भारत र चीनले नेपालसँगको सहमति बिना नै उक्त नाकाको प्रयोग गरेकोमा आपत्ति व्यक्त गरे। “नेपाल सरकारले तत्काल आफ्नो पहल अगाडि बढाओस्। वार्ता, संवाद र कूटनीतिक पहलमार्फत तथ्य र प्रमाण प्रस्तुत गरेर समस्या समाधानतर्फ अघि बढोस्,” अध्यक्ष नेपालले सरकारसँग आग्रह गरे।