कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार : कांग्रेस–एमालेबाट को–को बने नयाँ मन्त्री

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन गर्दै सबै पुराना मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबाट समान सहभागितासहित १० जना नयाँ अनुहारलाई सरकारमा सहभागी गराइएको हो।

मुख्यमन्त्री कार्कीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

नयाँ मन्त्रिमण्डलमा कांग्रेस र एमालेबाट समान रूपमा ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री समावेश छन्।

मन्त्रालयको जिम्मेवारीअनुसार प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसैगरी विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय तथा इसाइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा नियुक्त भएका छन्।

शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *