काठमाडौं । काठमाडौंमा १२ कम्युनिस्ट पार्टीहरूले इजरायलको गजा र इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । शुक्रवार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपालगायत १२ कम्युनिस्ट पार्टीहरूले इजरायलद्वारा गजा क्षेत्रमा भएको ‘नरसंहार’ र इरानमाथिको हालैको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरे ।

प्रदर्शनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, लीलामणि पोखरेल, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीसहित विभिन्न कम्युनिस्ट घटकका नेता–कार्यकर्ताहरू सहभागी थिए।

‘साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर’ नारा लगाउँदै उनीहरूले शान्तिबाटिका (रत्नपार्क)बाट सुरु गरी जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा पुगेर सभा गरे । गत असार १९ गते नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिस्ट पार्टीहरूको बैठकले इजरायलको गजा र इरानमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।