काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्ने नीति कडाइका साथ लागू गर्ने तयारी गरेको छ। आयोगले सामाजिक सञ्जाललाई नकारात्मक, भ्रामक र उत्तेजक सामग्रीभन्दा टाढा राख्दै सकारात्मक सन्देश प्रवाहमा केन्द्रित गरिने जनाएको छ।
शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले मेटा (फेसबुक, इन्स्टाग्राम) र टिकटकका प्रतिनिधिसँग यस विषयमा सम्पर्क भइसकेको जानकारी दिए। उनका अनुसार ती प्लेटफर्महरूले अघिल्ला निर्वाचनमा जस्तै यसपटक पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन आयोगले सबै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई औपचारिक रूपमा पत्राचार गरिसकेको जनाएको छ। आवश्यक परे ती प्लेटफर्महरूसँग सम्झौता (एमओयु) गरेर अघि बढ्ने तयारीसमेत भइरहेको आयोगले स्पष्ट पारेको छ। आयोगको यो कदमले निर्वाचन प्रक्रियालाई स्वच्छ, मर्यादित र विश्वासयोग्य बनाउने अपेक्षा गरिएको छ।
