काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारलाई संयमित र आवश्यक कदम चाल्न निर्देशन दिएको छ । आयोगले जेनजी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिले शान्ति-सुरक्षामा पर्न सक्ने असरप्रति चिन्ता व्यक्त गरेको छ ।
विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूका अभिव्यक्तिले मानव अधिकारको प्रयोगमा अवरोध निम्त्याउन सक्ने अवस्था देखिएको भन्दै आयोगले यसलाई गम्भीर रूपमा लिएको बुधवार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
आयोगका अनुसार हिंसात्मक गतिविधि, लक्षित नकारात्मक टिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव बिगार्ने तथा राजनीतिक वातावरण धमिलो बनाउने जोखिम रहेको जनाएको छ । सार्वजनिक र निजी सम्पत्तिको संरक्षण, विधिको शासन कायम राख्ने, र सामाजिक सद्भाव जोगाउँदै स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत सङ्क्रमणकालीन अवस्थाको समाधान खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको आयोगले जोड दिएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासन बलियो बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्य र संयमका साथ आवश्यक कदम चाल्न आयोग नेपाल सरकारलाई निर्देशन दिन्छ ।’ यसैगरी, आयोगले राजनीतिक दल र समूहहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, घृणायुक्त अभिव्यक्ति रोक्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत समाधानको बाटोमा सहभागी हुन आह्वान गरेको छ ।