काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताहरूप्रति तीव्र व्यङ्ग्य र आक्रोश व्यक्त गरेका छन्। पार्टीको वृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरे।
शीर्ष नेताहरूतर्फ लक्षित गर्दै लामिछानेले कटाक्षपूर्ण शैलीमा भने, “मलाई साढे छ फिटको खाल्डो खन्ने हो भन्ने सोच्नु भएको होला, तर अब तपाईंहरूलाई पनि त्यत्तिकै ठूलो खाल्डो खन्नैपर्ने अवस्था आएको छ, नखनी सुखै छैन जस्तो देखिन्छ।”
उनले पुराना राजनीतिक दलहरूले परिवर्तनलाई स्वीकार गर्न नसकेको आरोप लगाउँदै आफ्ना कमजोरी स्वीकार गर्न आग्रह गरे। “मुलुक अत्यन्तै जर्जर अवस्थामा पुगेको छ। कुशासनको चपेटामा पारेर देशलाई यहाँसम्म पुर्याइएको छ,” उनले भने, “अब थप जोडबल नगर्नुस्, प्रतिगमनका सपना नदेख्नुस्। अपदस्तताको पराकाष्ठा भइसकेको छ, योभन्दा पर नजानुस्।”
लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै कुनै पनि किसिमको चलखेल नगर्न चेतावनी दिए।
“निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनुस्। हात लम्काउने, चम्काउने प्रयास नगर्नुस्। अन्ततः जनताले आफ्नो मतमार्फत निर्णय गर्छन्,” उनले भने, “हामीले नयाँ इतिहास रच्नुछ।”
उनले देशले पटक–पटक पाएको अवसर केही अवसरवादी समूहका कारण खेर गएको आरोपसमेत लगाए।
