काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को सम्भावित गठबन्धनबाट आफूहरू नडराएको स्पष्ट पारेका छन्।
मंगलबार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले रवि र बालेनको राजनीतिक समीकरणलाई लिएर डर फैलाउने प्रयास निराधार भएको बताएका हुन्।
“उहाँहरूसँग डराउनुपर्ने कुनै कारण छैन। हामी रवि र बालेनको गठबन्धनबाट डराएका छैनौँ। उहाँहरूसँग हामी किन डराउने ? मलाई कुनै डर छैन,” प्रचण्डले भने।
उनले रवि लामिछानेलाई विगतमा आफूले कठिन अवस्थामा साथ दिएको स्मरण गराउँदै भने, “रविलाई धेरै अप्ठ्यारो स्थितिबाट मैले डिफेन्ड गर्दै आएको हो। मेरै नेतृत्वको सरकारमा दुई–दुई पटक उनलाई गृहमन्त्री बनाइएको हो।”
यसै क्रममा प्रचण्डले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको विषयमा पनि स्पष्ट पारे। उनले राष्ट्रियसभामा तीन सिट लिने कुनै सहमति नभएको दाबी गर्दै भने, “कहीँ कतै कुनै सहमति भएको छैन। राष्ट्रियसभामा जसको मतभार जति छ, त्यहीअनुसार सिट पाउने अधिकार हो। हामीले तीन सिट लिने भन्ने कुराको टुंगो लागेको छैन।”
