काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन् । बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई यो महाधिवेशनमा सहभागी हुन औपचारिक आग्रह गरे ।
केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने निर्णय गरे पनि थापाले यसलाई अस्वीकार गरेका हुन् । उनले भने, ‘यो महाधिवेशन पूर्ण रूपमा विधानसम्मत छ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरिसकेपछि यसलाई रोक्ने वा फिर्ता गराउने अधिकार कसैलाई छैन ।’
थापाले विशेष महाधिवेशनलाई सभापतिविरुद्धको कदमका रूपमा नलिन आग्रह गर्दै यसलाई पार्टीको आन्तरिक प्रक्रियाको रूपमा हेर्नुपर्ने बताए । उनले भने,‘यो साथीहरूले गरेको विधानसम्मत आयोजना हो । सभापतिज्यूले यसको अपनत्व लिनुहोस् र पुस २७ गते सहभागी हुनुहोस् । सहभागिताले उहाँको मान घट्दैन, बरु बढ्छ ।’
महामन्त्री थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले फिर्ता प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक नभएको तर्कलाई उनले विधानको अपव्याख्या भएको बताएका छन् । ‘नियमित महाधिवेशन मङ्सिरमा गर्न नसक्ने र विशेष पनि गर्न नपाइने भन्नु विधानविपरीत हो । यो महाधिवेशन नीति र नेतृत्व परिवर्तन गरी देशको परिस्थिति तथा नागरिक असन्तुष्टिलाई सम्बोधन गर्नका लागि हो,’ उनले भने ।
पार्टी फुट्ने आशंकाप्रति उनले भने, ‘हामी फुटाउन होइन, जुटाउन लागेका छौँ । कार्यकर्ताको भावना नसुन्दा पार्टी फुट्ने खतरा हुन्छ ।’ उनले देशभरका सबै महाधिवेशन प्रतिनिधिलाई पुस २७ गते विशेष महाधिवेशनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।
