संघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ मा राष्ट्रियसभाबाट गरिएका संशोधनहरूबारे विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ ।

यता राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयन अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकको सम्भावित कार्यसूचीमा समावेश गरिएको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *