कांग्रेस चुनावको पक्षमा : संसद् पुनर्स्थापनाको एजेण्डामा एमाले एक्लियो

काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै राजनीतिक माहोल तातिदैं गएको छ । शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा चुनावमा सहभागी हुने निर्णय गरेपछि अब निर्वाचनको विरोधमा उभिएको प्रमुख दल नेकपा एमाले मात्र बाँकी रहेको छ।

निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकलाई स्थिर निकास दिन चुनाव अपरिहार्य रहेको बताउँदै, कांग्रेस चुनावमा जान तयार भएको र निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुरू गर्ने जानकारी दिए।

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा आयोजित जनसभामा “प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने” भन्दै आफ्नो अडान दोहोर्‍याए। उनले संसद् पुनर्स्थापना नै एक मात्र संवैधानिक समाधान भएको दाबी गर्दै अन्य दललाई “असंवैधानिक सरकारको समर्थन नगर्न” आह्वान गरे।

कांग्रेसले चुनावको बाटो रोजेपछि संसद् पुनर्स्थापनाको मागमा एमाले एक्लिएर उभिएको छ। निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ३७ दलले प्रतिनिधिसभाका लागि दल दर्ता गराइसकेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, रास्वपा, नेमकिपा र जनमोर्चाजस्ता पुराना दलसँगै जेनजी आन्दोलनपछि उदाएका नयाँ राजनीतिक समूहहरूले पनि दर्ता प्रक्रिया पूरा गरिरहेका छन्। कांग्रेसले आइतबार वा सोमबार दल दर्ता तयारी गरेको छ।

संसद् पुनर्स्थापनाका लागि कांग्रेसले केही दिनअघि सांसद हस्ताक्षर संकलन सुरु गरे पनि अन्ततः निर्वाचनलाई नै सहमतिको मार्ग मानेपछि एमाले मात्र पुनर्स्थापनाको एजेन्डा बोकेर मैदानमा बाँकी रहेको छ। निर्वाचन आयोगले मंसिर १० भित्र दल दर्ता आवेदन लिने र मंसिर २० भित्र स्वीकृति दिने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

अब सबै राजनीतिक दृष्टि फागुन २१ को निर्वाचनतर्फ मोडिएको छ भने एमाले भने आफ्नो आन्दोलनलाई निरन्तरता दिने तयारीमै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *